साफ यु-२० : उपाधिका लागि भारत र बंगलादेश भिड्दै



काठमाडौं । यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बङ्गलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ। 

भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन्। 

पहिलो पटक यु-२० आधारमा आयोजना भएको प्रतियोगितामा दुबै टोलीले उपाधि जित्ने बताएका छन्। घरेलु टोली भारत समूहमा भागेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ । 

भारत प्रतियोगिताको साविक विजेता समेत हो। नेपालमा सन् २०१९ मा आयोजना भएको यु-१८ साफमा भारतले बङ्गलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।

त्यस अघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । त्यस यता नेपाली टोली समूह चरणबाट माथि उठ्न सकेको छैन। भारतमा जारी प्रतियोगितामा बंगलादेश चार खेलमा १० अङ्क जोड्दै शीर्षस्थानमा रह्यो।

भारत एक हार र तीन खेलमा जित निकाल्दै ९ अङ्क सहित दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो। यस अघि समूहमा भएको खेलमा बंगलादेशले भारतलाई २–१ अन्तरले पराजित गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्