नागरिकताको नाम र थरमा अपमानजनक शब्द प्रयोग गर्न नपाइने



काठमाडौं । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले अबदेखि नाम र थरमा अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी नगर्ने व्यवस्था मिलाइएको पनि बताए ।

पहिले नै अपमानजनक शब्द राखेर नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित व्यक्तिलाई सच्याउन दिने व्यवस्था पनि मिलाइएको पनि पोखरेलले जानकारी दिएका छन् ।

विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकतामा व्यक्तिको नाममा अपमानजनक शब्द प्रयोग भएको समाचार सार्वजनिक भएपछि गृहले अबदेखि त्यस्तो हुन नदिने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्