९९ सिटको बटमलाइन बोकेर वार्तामा कांग्रेस



काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्दा नेपाली कांग्रेसको ६० प्रतिशत सिट लिने ‘बटमलाइन’ हुने भएको छ। सिट बाँडफाँटको खाका तयार गर्न गठित कार्यदलको बैठक बसेकै दिन सोमबार बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यसलाई बटमलाइन बनाउने निर्णय गरेको हो।

देशभर प्रतिनिधिसभाको सिट सङ्ख्या १६५ छ । यसको ६० प्रतिशत भनेको ९९ सिट हो। ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट प्राप्त हैसियतको आधारमा कांग्रेसले एकल बहुमत प्राप्त गर्नेगरी यो बटमलाइन तय गरेको हो ।

सिट बाँडफाँट कार्यदलले भने बाँडफाँटबारेको खाका बनाउन बाँकी छ। कार्यदलले तयार गर्ने खाकाकै आधारमा सिट बाँडफाँट हुने भनिएको छ। साउनभित्रै खाका तयार गर्ने कार्यादेश कार्यदललाई छ। कार्यदल कांग्रेसकै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा छ।

तर, कांग्रेसले स्थानीय तह निर्वाचनबाट प्राप्त हैसियतलाई बाँडफाँटको आधार मान्नुपर्ने भन्दै बटमलाइन तय गरेपछि गठबन्धनका अन्य दलहरू भने झस्किएका छन् । वर्तमान गठबन्धन सरकार बनाउन ३ साउन २०७८ मा निर्णायक भूमिका निर्वाह गरेका तत्कालीन एमालेका सांसदहरू रहेको हालको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला भन्छन्, ‘कांग्रेसको बटमलाइन स्वीकार्य छैन ।’

उनले तालमेल गर्दा सिट बाँडफाँटका ३ विकल्प अघि सारे । पहिलो– प्रतिनिधिसभामा जुन दलको जुन सिट छ, ती सिट लिने र एमालेसहित गठबन्धनबाहिरका दलले जितेको सिट बाँडफाँट गर्ने । दोस्रो– गठबन्धन बनाउन गरेको त्याग र विद्रोहलाई आधार मानेर पनि सिट बाँडफाँट गर्ने ।

तेस्रो– संसद्मा आवश्यक पर्ने शीर्ष तहका नेताहरूको सुरक्षित व्यवस्थापन गर्ने । ज्वालाले अघि सारेका पहिलो विकल्पले कांग्रेसको ९९ सिटको बटमलाइनलाई धक्का दिएको छ किनभने कांग्रेसले जितेको सिट सङ्ख्या २३ हो । यो विकल्पलाई आधार मानेर सिट बाँडफाँट गरे ज्वाला आबद्ध दल नेकपा एससहित नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई फाइदा हुनेछ अर्थात् कांग्रेसले ९९ सिट पाउनेछैन ।

एकीकृत समाजवादी पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान लागेको दल पनि हो। यस कारण पनि यस दलले दलमा रहेका प्रत्यक्षतर्फका सांसदहरूको सिटलाई बाँड्नुपर्ने विकल्प अघि सारेको हो।

गठबन्धनको अर्को दल माओवादीका स्थायी समिति सदस्य लीलामणि पोखरेलले पनि बटमलाइन भन्दैमा दाबी गरेजति सिट कुनै दलले नपाइने बताए। उनका अनुसार कार्यदलले तयार गर्ने खाकामा आधारित भएर सिट टुङ्गो लाग्छ।

एकीकृत समाजवादीका उपमहासचिव ज्वालाले जसरी पोखरेलले पनि पहिले जितेको क्षेत्र आ–आफूले लिएर गठबन्धनबाहिरका दलले जितेको चुनाव क्षेत्रलाई बाँडफाँट गर्न सकिने विकल्प हुन सक्ने बताए।

‘कार्यदलले छलफल गर्छ । म त्यहाँ त छैन तर पहिले जितेको क्षेत्र लिएर नजितेका क्षेत्र भागबन्डा गर्दा ठीक हुन्छ । बटमलाइन तय गरे भन्दैमा त्यति नै सिट हुन्छ भन्ने हुँदैन । गठबन्धनमा छलफल हुन्छ । समझदारी कायम गरिन्छ’, पोखरेल भन्छन् ।

१० र २१ मङ्सिर २०७४ मा भएको चुनावमा एमाले ८० सिट जित्दै पहिलो दल बनेको थियो । त्यतिबेला एमाले माओवादीसँग वाम गठबन्धन गर्दै चुनावमा गएको थियो।

वाम गठबन्धनकै कारण कांग्रेस २३ सिटमा खुम्चियो तैपनि उसले ९९ सिटलाई बटमलाइन बनाएको हो। तर, ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा भने कांग्रेस जुन दलले जुन स्थानीय तह जितेको छ, त्यो लिएर एमालेले जितेको स्थानीय तह बाँडफाँट गर्न राजी भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने कांग्रेस विपक्षमा उभिएको हो ।

२ साउनमा सम्पन्न उक्त दलको केन्द्रीय समिति बैठकले एकल बहुमत प्राप्त हुनेगरी तालमेलमा सिट बाँडफाँट गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्