राष्ट्रपतिलाई भेटेपछि प्रचण्डले किन बोलाए बैठक ? 



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) बस्दैछ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्न लागेको हो । 

पार्टी एकता भएको १५ महिनापछि पहिलो पटक नेकपा अध्यक्ष प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बस्न लागेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबारको सचिवालय बैठकमा दाहाललाई आफ्नो अनुपस्थितिमा पनि बैठक बोलाउन र पार्टी निर्णय गराउने अधिकार दिए । सोही आधकारमा अध्यक्ष प्रचण्डले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् ।  

यसभन्दा अगाडी दिउँसो १ बजेको लागि बोलाइएको सचिवालय बैठक विशेष कारण देखाउँदै बिहान ११ बजे नै बस्न लागेको हो । 

बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने,  पार्टीले सार्वजनिक गरेको जनजागरण अभियानका विषयमा छलफल हुने नेकपाले जनाएको छ । 

नेकपाले पार्टी एकताको अधिकांश काम टुंगो लगाए पनि केन्द्रीय आयोग, विभागका सदस्यहरु, महानगर कमिटी र प्रवास कमिटीको टुंगो लाग्न बाँकी छ । आजको बैठकमा ६ ओटै महानगर कमिटीको अध्यक्ष सचिव, प्रवास कमिटी र बाँकी केन्द्रीय सदस्यहरूको कार्य्बिभाजन टुंगो लगाउने एजेण्डा रहेको छ ।

यसअघि अध्यक्ष प्रचण्डले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, राष्ट्रपति  विद्यादेवी भण्डरी लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । 

यसअघि गत बिहीबारै बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेपालबीच चर्काचर्की भएको थियो । 

यसअघि मंसिर २९ देखि पुस १३ सम्मको स्थायी समिति बैठक मात्र पार्टी कार्यालयमा बसेको थियो । त्यसयता सचिवालयका ३३ औं पटक बैठक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्