क्रिकेटमा प्रभाकरको ‘इन्ट्री’



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । यसअघिका प्रशिक्षक पुबुदु दासानायकले पद त्याग गरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले उनलाई नियुक्त गरेको हो ।

गत महिना स्कटल्यान्डमा भएको आईसीसी क्रिकेट विश्वकप लिग– २ मा कमजोर प्रदर्शन गरेपछि दासानायकेले नेपाली क्रिकेटको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
प्रभाकर सन् १९८० र ९० को दशकका चर्चित भारतीय अलराउन्डर हुन् । प्रभाकर विश्वस्तरीय क्रिकेटमा प्रारम्भिक ब्याट्सम्यान र प्रारम्भिक बलर दुवै निभाउने विरलैमध्येका खेलाडी हुन् ।

३९ टेस्ट खेलमा सहभागिता जनाएका उनी सीमित ओभरको क्रिकेटमा बढी प्रभावकारी थिए । उनले खेल जीवनमा १३० एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
प्रभाकरले सन् २०१५ मा बलिङ प्रशिक्षकका रूपमा अफगानिस्तान क्रिकेट टिमको जिम्मेवारी सम्हालेका थिए । १ वर्षपछि अफगानिस्तान क्रिकेट बोर्डले उनको सम्झौता नवीकरण गरेको थिएन । प्रभाकरले रणजी ट्रफीमा प्रशिक्षकको रूपमा दिल्ली, राजस्थान र उत्तर प्रदेश क्रिकेट एसोसिएसनको जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपाल आएका प्रशिक्षकमध्ये खेलाडीका रूपमा सबैभन्दा सफल रहेका प्रभाकर बलरको रूपमा भारतीय राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश गरेका खेलाडी हुन् । प्रशिक्षकको रूपमा बलिङ प्रशिक्षकको रूपमा छवि बनाएका प्रभाकरले ब्याटिङमा कमजोर नेपालको जिम्मेवारी सम्हालेका छन् ।

नेपाली क्रिकेट अधिकारी भने उनीबाट ब्याटिङमा सुधार हुने कुरामा विश्वास व्यक्त गर्छन् । अफगानिस्तानमा रहँदा बलिङ प्रशिक्षक रहेका उनले ब्याटिङ पनि राम्रो सिकाउन सक्ने क्यान अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् । चन्दकै अनुसार ब्याटिङ सुधार्ने अपेक्षासहित उनको सिफारिस भएको हो ।

चन्दका अनुसार सम्झौता अवधि १ वर्षको हुनेछ। प्रभाकरले यसबीचमा आफूले नेपाली टोलीको ब्याटिङमा सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । खेलाडीका रूपमा १ दशकभन्दा बढी समय भारतको राष्ट्रिय टिमका लागि खेलेका प्रभाकरले सन् १९८४ डिसेम्बरमा इंग्ल्यान्डविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । उनले सन् १९९५ मा न्युजिल्यान्डविरुद्ध अन्तिम टेस्ट खेलेका थिए ।

यस्तै, उनले १९८४ कै अप्रिलमा श्रीलंकाविरुद्ध १ दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनको श्रीलंकाविरुद्धको अन्तिम १ दिवसीय खेल पनि सम्झनलायक थियो । सिमर प्रभाकरले राम्रोसँग बलिङ गर्न नसकेपछि कोटा पूरा गर्न अन्तिम २ ओभर अफ स्पिन बलिङ गरेका थिए। विश्वकपको त्यस खेलपछि उनी टोलीमा अटाउन सकेका थिएनन् । त्यसअघि उनले सन् १९८७ र १९९२ को विश्वकप पनि खेलेका थिए।

बलिङ अलराउन्डर प्रभाकरले ३९ टेस्टमा ९६ र १३० एक दिवसीयमा १५७ विकेट लिएका थिए। टेस्टमा उनको उच्च स्कोर १२० थियो । उनले टेस्टमा १ शतक र ९ अर्धशतकसहित १ हजार ६०० रन बनाएका थिए । १ दिवसीयमा भने उनले १ हजार ८५८ रन बनाए। उनले गरेको १ दिवसीयको उच्च स्कोर १०६ थियो ।

तल्लो क्रमका ब्याट्सम्यान उनले केही खेलमा पारीको सुरुवात पनि गरेका थिए। उनको खेल जीवन विवादमुक्त भने रहन सकेन । सन् १९९९ मा उनी खेल मिलोमतो प्रकरणमा संलग्न रहेको समाचार प्रकाशन भएको थियो । यसपछि भारतीय क्रिकेट बोर्ड ( बीसीसीआई)ले उनीमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

सन् २०११ मा दिल्ली क्रिकेट टिमका प्रशिक्षक रहेका उनलाई छनोटकर्ता र खेलाडीको सार्वजनिक आलोचना गरेका कारण बर्खास्त गरिएको थियो । प्रभाकरलाई सन् १९९६ मा कांग्रेस आईले दिल्लीको प्रान्तीय सांसदमा उम्मेदवार बनाए पनि पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्