२५ हजार घुससहित लेखापाल अख्तियारको फन्दामा 



वीरगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जिल्ला प्रशासन कार्यालयका लेखापाललाई घुससहित रंगेहात पक्राउ गरेको छ । 

जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत लेखापाल जयसिंह थारुलाई २५ हजार घुस रकमसहित अख्तियार कार्यालय हेटौँडाको टोलीले रंगेहात पक्राउ गरेको जनाएको हो । 

कलैयास्थित होटल भान्सा घरमा उपभोक्ता समितिसँग घुस बापतको २५ हजार लिई रहेको अवस्थामा डिएसपी केशव भट्टराईको नेतृत्वमा आएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । 

तत्कालिन बाराको फेटा गाउँपालिकामा लेखापालमा कार्यरत रहँदा थारुले आर्थिक वर्ष २०७५/०७६ को योजनाको कमिशन उपभोक्ता समितिसँग लिने बार्गेनिङ्ग गरेका थिए । 

थारु गाउँपालिकाबाट ६ दिन अगाडी मात्र जिल्ला प्रशासन कार्यालय बारामा सरुवा भएर लेखापालको रुपमा कार्यभार सम्भालेका थिए । सोमबार दिउँसो फेटा गाउँपालिकाको आर्थिक वर्षको योजनाको कमिशनको रकम लिन भान्सा घर पुगेका थिए । 

पक्राउ परेको थारुलाई आवश्यक अनुसन्धानको लागि अख्तियारले आफ्नो नियन्त्रणमा लिई हेटौँडा लग्ने तयारी भइरहेको  डिएसपी भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्