११ कक्षाका ५१ वर्षीय वडाध्यक्ष : गाउँमै कक्षा ल्याए, आफू पनि भर्ना भए



  • सुमन दाहाल

हेटौँडा । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ पढ्ने रहर र आफ्ना अधुरा सपना र लक्ष्यहरूलाई अघि बढाउन उमेरले छेक्दैन भन्ने प्रेरणा बन्ने भएका छन् मकवानपुरको मनहरी– १ का वडाध्यक्ष शिवप्रसाद खनाल । २ सन्तानका बाबु, उमेरले ५१ वर्षीय वडाध्यक्ष खनाल अहिले आफ्नै गाउँको मकरीस्थित बाल जीवन ज्योति माविमा उच्चशिक्षा सञ्चालन गर्न लागिपरेका छन्।

त्यति मात्र होइन, वडाध्यक्ष खनाल आफैँ सोही विद्यालयमा पहिलो पटक सञ्चालन हुन लागेको कक्षा ११ मा पढ्न भर्नासमेत भइसकेका छन् । उनी ३१ वर्षपछि पुनः औपचारिक शिक्षालाई अघि बढाउने तयारीमा छन् ।

२०४८ सालमा बारा कलैयाको सिद्धेश्वर संस्कृत विद्यालयबाट द्वितीय श्रेणीमा एसएलसी पास गरेका खनाल ३१ वर्षपछि पहिलो पटक कक्षा ११ मा भर्ना भएका हुन् । उनी आफ्नै वडाको बाल जीवन ज्योति विद्यालयको कक्षा ११ मा भर्ना हुने पहिलो विद्यार्थीसमेत बनेका छन् ।

एसएलसीपछि पारिवारिक आर्थिक समस्याका कारण आफ्नो औपचारिक शिक्षालाई बिट मारेका खनाल कक्षा ११ मा भर्ना भएपछि उत्साही छन् । आफ्नै वडाको विद्यालय समितिका अध्यक्षसमेत रहेका खनाल अहिले गाउँको विद्यालयबाट एसईई पास गरेका विद्यार्थीहरूलाई गाउँमै उच्चशिक्षा दिन लाग्दा खुसी पनि छन्।

द नेपालटपसँग कुरा गर्दै वडाध्यक्ष खनालले क्षमता अभिवृद्धि गर्न र अधुरा लक्ष्यहरूलाई अघि बढाउन कक्षा ११ मा भर्ना भएको बताए। उनले आफूले यसअघि २०४८ सालमा एसएलसी पासपछि अध्ययनलाई अघि बढाउन नसक्दा अहिले पछुतो भएको महसुस गरेको बताए।

‘त्यतिखेर पारिवारिक आर्थिक समस्याका कारण पढाइ रोक्नुपर्‍यो। पहिलेको शिक्षा र अहिलेको शिक्षामा धेरै भिन्नता भइसक्यो। अहिले शिक्षाबिना कुनै काम अघि बढाउन नसकिने महसुस गर्दै छु’, वडाध्यक्ष खनालले भने, ‘शिक्षा अत्यावश्यक र महत्वपूर्ण छ । समाज परिवर्तनका लागि म मोटिभेटर (उत्प्रेरक)का रूपमा शिक्षालाई अघि बढाउन चाहन्छु।’

उनले आफू २०७४ सालमा पहिलो पटक वडाध्यक्ष भएको समयमा गाउँमै उच्चशिक्षा सञ्चालन गर्ने तयारी सुरु गरेको समेत बताए।

‘गाउँकै विद्यालयमा उच्चशिक्षा सञ्चालन गर्न धेरै पहल गर्‍यौँ। २०७३ चैतमा भागवत सप्ताह लगाएका थियौँ। सप्ताहबाट करिब ९ लाख रुपैयाँ उठेको र सो पैसालाई बैंकमा राखेका थियौँ’, वडाध्यक्ष खनालले भने, ‘उक्त पैसालाई कहाँ लगानी गर्ने भनेर छलफल गर्‍यौँ। सबैभन्दा ठूलो मन्दिर विद्यालय हो भन्ने सोचले गाउँको शिक्षामा लगानी गर्ने निचोडमा पुग्यौँ । गाउँमै उच्चशिक्षा पढ्न मिल्ने बनाउने हाम्रो अभियानले सार्थकता पाउँदै छ । म पनि कक्षा ११ मा पढ्ने भएको छु।’

उनले आफ्ना दुवै छोराहरूले कक्षा १२ पास गरेर प्राविधिक शिक्षा अध्ययन गरिरहेका बताउँदै आफू पनि कक्षा १२ सम्म पढ्ने बताए । ‘प्लस टु पास गर्ने इच्छा छ । शिक्षा सङ्काय लिएर कक्षा ११ मा भर्खर भर्ना भएको छु’, खनालले भने, ‘पढाइको नतिजा कस्तो आउँछ । त्यसको नतिजाअनुसार अघि बढ्नेछु ।’

खनाल २०७४ र २०७९ सालमा भएका दुवै स्थानीय चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका जनप्रतिनिधिसमेत हुन् । विद्यालयमा उच्चशिक्षाअन्तर्गत कक्षा ११ सञ्चालन हुने भएपछि एसईई पासपछि घर, गाउँबाट टाढा भएर हेटौँडा बजार आएर पढ्नुपर्ने तथा आर्थिक अवस्था कमजोर भएकाहरूले पढाइलाई बीचमै छाड्नुपर्ने समस्याको अन्त्य हुने विद्यालयका प्रधानाध्यापक एकराज गौतम बताउँछन् ।

२०१९ सालमा स्थापना भएको बाल ज्योति माविमा पहिलो पटक उच्चशिक्षाअन्तर्गत कक्षा ११ मा शिक्षा र व्यवस्थापन सङ्काय पढाइ हुने प्रधानाध्यापक गौतमले बताए । करिब साढे ५०० विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा ११ सञ्चालन भएपछि ६०० भन्दा बढी विद्यार्थी सङ्ख्या पुग्ने प्रधानाध्यापक गौतमको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्