जनतामा माओवादीप्रति आकर्षण छ, चुनावमा पहिलो वामपन्थी पार्टी बन्ने सम्भावना : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोष्टबहादुर बोगटीको ७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए ।

कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले १ सय ७५ तहमा जित्ने अनुमान गरिएकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेताकार्यकर्ताले आचरण सुधार गर्न आवश्यक रहेको बताएका छन् । प्रचण्डले भने, ‘व्यवहार र आचरणमा फरक देखियो, खिचातानी, एकले अर्कालाई हराउने प्रवृत्ति छोड्न आवश्यक छ ।’

विचार र व्यवहार प्रति नेताहरू धरमराएको उनको भनाइ छ । उनले प्रदेश र संघको निर्वाचन आउँदै गरेको र जनताको आकर्षण माओवादी केन्द्रप्रति व्यापक रहेको भन्दै यसलाई जोगाउन आग्रह समेत गरेका छन् । साथै, वाम एकताको प्रयास पनि जारी रहेकोले वामपन्थी आन्दोलनबाटै माओवादी पहिलो पार्टी बन्ने पूरा सम्भावना रहेको प्रचण्डको भनाइ छ । उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’

उनले पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानमा आउने नयाँ नेतृत्वले पार्टीले लिएको नीतिलाई अझै अघि बढाउने विश्वास पनि व्यक्त गरेका छन् । उनले भने, ‘नयाँ पदाधिकारीले प्रतिष्ठान र पार्टीको नीतिलाई अझै राम्रोसँग अघि बढाउने छ । कमरेड बोगटीको सोचलाई अझै धेरै माथि पुर्याउने छ ।’

उनले कार्यक्रममा स्व.बोगटी धेरै पढे लेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको बताएका छन्। उनले भने, ‘ अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरण प्रति धेरैको असन्तुष्टि छ । उनीहरू आत्मकेन्द्रित, स्वार्थ केन्द्रित भएको गुनासो छ । हामीले पनि अनुभव गरिरहेका छौं । तर, आज समाजले अर्को व्यवहार मागिरहेको छ । यो अन्तरविरोधलाई समाधान गर्नुपर्छ ।’

स्व.बोगटीको आचरण र व्यवहार सधै एकनास रहेको उनले सम्झिए । उनले सम्झिए, ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठयारो हुँदा उनी सधै अघि सर्थे । पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अदभूत क्षमता उनमा थियो ।’ पार्टीभित्रका डाक्टर र वैद्यहरुलाई समेत मिलाउन सक्ने क्षमता उनमा रहेको प्रचण्डले बताए । अहिले उनका यस्ता गुण अझै पनि आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्