गाउँपालिका प्रमुख ब्रम्हदेवको ब्रम्हलुट 



जनकपुरधाम : धनुषाको औरही गाउँपालिका प्रमुख ब्रम्हदेव यादवले विकास निर्माणको नाममा अनियमितता गर्ने गरेको रहस्य खुलेको छ । प्रमुख ब्रम्हदेवले कोटेशनमा गराउँदै आएको निर्माणको काम स्तरहिन भएको प्रमाण द नेपालटपले फेला पारेको छ ।

औरही २ परवाहा टोलमा कालिकान्त मिश्राको घर नजिक निर्माणाधिन अवस्थामा रहेको कल्भर्ट स्तरहिन देखिएको छ । पाँच लाख रुपैयाँ लागत तोकिएको यस कल्भर्टमा गुणस्तरहिन इट्टा प्रयोग भएको छ भने स्टीमेटमा कल्भर्टको उचाई ६ फिट हुनुपर्ने भनिएपनि ३ फिट मात्रै छ । त्यस्तै हिलोमा ढलान गरेको पाइएको छ ।

पर्वाह टोलकै कच्चि सडक मर्मतको नाममा पनि उनले पाँच लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ । स्थानियका अनुसार उक्त कच्चि सडकमा उनले माटोको मात्रा बढि हालेका छन् ।

यो दुवै कामको उनले एक आफन्तको नाममा रहेको फर्मबाट निकासा लिएका छन् ।

बिजुलिवत्तीमा २४ लाख झ्वाम

गाउँपालिका प्रमुख ब्रम्हदेवले बिजुलीवत्ती खरिदमा पनि अनियमितता गरेको पाइएको छ । उनले दुई वर्ष ग्यारेन्टी भनेर ६ वटा वडामा लगाएको सिएफएल चिमको अघिल्लो आर्थिक वर्षमा १४ लाख र पछिल्लो आर्थिक वर्षमा १० लाख रुपैयाँ निकासा गरेको पाइएको छ ।

पालिका प्रमुख ब्रम्हदेवले गाउँपालिकाबाट कमाएको पैसाले औरही १ मा बजरंगी इट्टा उद्योग खोलेका छन् । हकिम नाम गरेको व्यक्तिको नाममा रहेको उक्त इट्टा भट्टामा प्रमुख ब्रम्हदेवको आधा शेयर रहेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्