निर्वाचनका लागि दलहरू तात्दै



  • सुमन दाहाल

हेटौंडा । ४ मंसिरमा हुने संघ र प्रदेश निर्वाचन घोषणा भएसँगै जिल्लामा क्रियाशील राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधि बढाएको छ।

निर्वाचन घोषणा भएसँगै जिल्लामा क्रियाशील सत्त्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख प्रतिपक्षी नेकपा एमाले, राप्रपा र राप्रपा नेपालले निर्वाचन केन्द्रित गतिविधिहरू सुरु गरेका छन्।

उनीहरू निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम, कमिटी निर्माण र बैठकहरू गरिहेका छन् । सत्तारूढ दलहरू चुनावी तालमेर गरेर निर्वाचनमा होमिने बताए पनि हाल छुट्टै बैठक गरिरहेका छन् ।

नेकपा माले मकवानपुरले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गर्न उम्मेदवारसमेत सिफारिस गरिसकेको छ। मालेले जिल्लाको २ वटा क्षेत्रको लागि ६ जना उम्मेद्वार सिफारिस गरेको हो ।

मालले मकवानपुर–१ को लागि केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेका कृष्णप्रसाद दाहाल सहित कुमार बहादुर संजेल र अम्बिका लामिछानेको नाम सिफारिस गरेको छ भने क्षेत्र २ मा तीर्थराज सुवेदी, उद्धव अधिकारी र सबिना विश्वकर्माको नाम सिफारिस गरेको छ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिने बताएका छन्। उनले केन्द्रले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण कार्यक्रम गर्न लागेको बताउँदै प्रशिक्षण पछि जिल्ला पदाधिकारी र कमिटी बैठकमा छलफल गरेर निर्वाचन केन्द्रित कार्यक्रम अघि बढाउने बताए ।

‘घरघर जाँउ, कांग्रेस जिताउँ’ अभियानकै स्वरुपमा फेरि हामी टोल, बस्तीमा पुग्छौ’, उनले भने । जिल्लामा हालसम्म सत्ता गठबन्धनको औपचारिक कुनै बैठक बसेको छैन ।

यसैगरी एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पार्टी निर्वाचन केन्द्रित कार्यक्रमलाई अघि बढाउने तयारी गरिरहेको बताए । ‘मंसिरमा हुने निर्वाचनको लागि हामी तयारीमा छौं । अहिले संगठन सुदृढीकरण अभियानमा छौँ’, अध्यक्ष श्रेष्ठले भने ।
उनले जिल्लामा अन्य दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा छलफल नभएको समेत बताए ।

यता, राप्रपा नेपाल मकवानपुरका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले पार्टी निर्वाचन केन्द्रित सँंगै संगठन निर्माणको क्रममा रहेको बताए । अध्यक्ष सापकोटाले भने, ‘जिल्लामा चुनावी तालमेलको सम्भावना रहेको छ। एमालेसँग तालमेल हुन सक्छ।’

यसैगरी ,राप्रपा मकवानपुरले पनि आफ्नो चुनावी अभियान अघि बढाएको बताएको छ । राप्रपा जिल्ला प्रवक्ता आयुष डोटेलले हाल राप्रपाले गाउँ गाउँमा कमिटी निर्माणदेखि पार्टीका कार्यक्रमहरू निर्वाचन केन्द्रित गरिरहेको बताए ।

यसअघि २०७४ मा भएको संघ र प्रदेश निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । जसमा २ २ संघ र १ वटा प्रदेश एमाले र २ वटा प्रदेश सदस्यमा माओवादी विजयी हुँदा १ वटामा कांग्रेस विजयी भएको थियो ।

गएको ३० वैैशाखमा भएको स्थानीय निर्वाचनमा सत्तारूढ कांग्रेस–माओवादीसहित ५ दलीय गठबन्धनले १० स्थानीय तह मध्ये ८ वटामा प्रमुख र ९ वटामा उपमप्रमख पदमा विजयी हासिल गरेको थियो भने एमाले २ वटा स्थानीय तहको प्रमुख पदमा विजयी हुँदा १ वटामा उपप्रमुख पदमा विजयी भएको थियो ।

सत्ता गठबन्धनले प्रमुख तथा उपप्रमुख पदसहित जिल्लाको अधिकांश वडाहरूमा पनि चुनावी तालमेल गरेको थियो। जसमा १ सय २ वडा रहेको जिल्लामा ४४ वटा वडामा कांग्रेस विजयी हुँदा ३३ वटामा एमाले विजयी भएको थियो भने २४ वटामा माओवादी र १ वडामा नेकपा (एकीकृत समाजवाद) विजयी भएको थियो।

थपिए ८ हजार ६४३ जना मतदाता
मकवानपुरमा ८ हजार ६४३ जना मतदाता थपिएका छन् । बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालय अनुसार १ असारदेखि १९ साउनसम्म जिल्लामा ८ हजार ६४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

जिल्लामा ४ हजार ५१७ जना पुरुष र ४ हजार १२६ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएकोमा बाहिरी जिल्लाका २ सय ७२ रहेको कार्यालयले जनाएको छ ।

यसअघि, वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मकवानपुरमा १८ वर्ष उमेर नाघेका २ लाख ९४ हजार ९१९ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्