हरियो तरकारीको मूल्य अचाक्ली वृद्धि, बजार अनुगमन ‘कर्मकाण्डी’



काठमाडौं । दैनिक उपभोग्य वस्तु हरियो तरकारीमा अचाक्ली मूल्य वृद्धि भएको छ । दैनिक सर्वसाधारण उपभोक्ताको भान्सामा भित्रिने गोलभेँडा, बोडी, घिउसिमी, बन्दा, तिते करेलालगायत तरकारीमा अचाक्ली मूल्य वृद्धि भएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा काउलीको मूल्यमा ७३ प्रतिशत वृद्धि भएको छ भने काँक्रो ६६ प्रतिशतले वृद्धि भएको छ । यस्तै गोलभेँडा १८ प्रतिशत, घिउसिमी लोकल ६० प्रतिशत, घिरौँला ५५ प्रतिशत मूल्य वृद्धि भएको छ । दैनिक उपभोग्य हरियो तरकारीमा अचाक्ली मूल्य वृद्धि हुँदा सर्वसाधारण दैनिकमा प्रत्यक्ष असर परेको छ।

सरकारी निकायले गर्ने बजार अनुगमन ‘कर्मकाण्डी’ हुँदा व्यापारीले उपभोक्ताबाट मनपलाग्दी पैसा असुल्ने गरेको उपभोक्ताकर्मी बताउँछन्। राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन किसानको खेतबाट प्रतिकेजी १०/२० रूपैयाँमा ल्याएर व्यापारीले उपभोक्तालाई ३/४ गुणा बढी मूल्य लिने गरेको बताउँछन् ।

उनले काभ्रेका किसानसँग प्रतिकेजी १० रूपैयाँमा ल्याएको बन्दा, तिते करेला उपभोक्तालाई ३/४ गुणा बढी मूल्य लिई ३५ देखि ४० रूपैयाँमा बिक्री गर्ने पाइएको बताए । यस्तै बोडी, घिउसिमीलगायत दैनिक भान्सामा भित्रिने खाद्य वस्तुदेखि हरियो तरकारी व्यापारीले मनपरी मूल्य असुल्ने गरेको महर्जनको भनाइ छ । तर, बजार अनुगमनको अधिकारप्राप्त सरकारी निकाय भने मूकदर्शक भएका उनले बताए।

किसानसँग सस्तोमा किनेर व्यापारीले उपभोक्तालाई ५० देखि ७० प्रतिशत बढी मूल्य लिने गरेको पाइएको उनको भनाइ छ । यस्तै उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरोकारवाला सरकारी निकायको बजार अनुगमन कर्मकाण्डी जस्तोे हुँदा बजारमा बिचौलियाले उपभोक्ताबाट मनपरी मूल्य असुल्ने गरेको बताउँछन् ।

चाडपर्व निजिकिँदै गर्दा बजारमा अनुगमनलाई तीव्र बनाउनुपर्नेमा सरकारी निकायको बजार अनुगमन प्रभावकारी नभएको उनले बताए । सरकारी निकायको प्रभावकारी अनुगमन नभएकै कारण दैनिक उपभोग्य वस्तुमा व्यवसायीले अस्वाभाविक मूल्य वृद्धि गरी उपभोक्ता र कृषक दुवै मारमा पर्ने गरेको अध्यक्ष तिमल्सिना बताउँछन् ।

अध्यक्ष तिमल्सिनाले भने, ‘विभागको प्रदेश र स्थानीय तहसँग राम्रो समन्वय छैन । बजार अनुगमन शून्य छ । बजार अनुगमन देखाउनका लागि मात्र भइरहको छ ।’ बजार अनुगमनका नाममा कर्मचारीले भत्ता खाने काम मात्र गरेको उनको आरोप छ।

‘उपभोक्ताले अनुभूत गर्ने गरी बजार अनुगमन भएको छैन’, उनले भने, ‘सरकारी निकायबाट प्रभावकारी अनुगमन नभएकै कारण दैनिक उपभोक्ता ठगिनुपरेको छ।’ चितवनबाट १५ रूपैयाँमा ल्याएको काउली काठमाडौंमा ६० देखि ७० रूपैयाँ प्रतिकेजीमा बिक्री गर्ने गरेको उनी बताउँछन् ।

‘चामल दाल, गेडागुडी सबैमा व्यापारीले मनपरी मूल्य बढाएका छन् । अनुगमन गर्ने सरकारी निकाय अस्वाभाविक रूपमा वृद्धि भएको मूल्य नियन्त्रण गर्न छोडेर मूकदर्शक भएर बसेको छ’, उनले भने, ‘सरकारी निकाय नै जिम्मेवार नभइदिँदा उपभोक्ता ठगिनुपरेको छ।’

नेपाल फलफुल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरे कृषकले समयमा बीउ, मल नपाउँदा तरकारीको उत्पादन कम हुँदा केही तरकारी महँगो भएको बताउँछन् । उनले घिउसिमी, बोडीलगायत बेमौसमी तरकारी महँगो भएको बताए।

सिजनेबल हरियो तरकारी कालिमाटी बजारमा सस्तो रहेको उनको भनाइ छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले केही वस्तु महँगो भए पनि केही तरकारी सस्तो पनि रहेको बताए ।

उनले अघिल्लो महिनाको तुलनामा सिमी, बोडी, गोलभेँडा घिरौँला महँगो भएको जानकारी दिए । श्रेष्ठका अनुसार घिउसिमी अघिल्लो महिनाको तूलनामा ५९ दशलमव ६२ प्रतिशत, घिरौँला ५५ दशमलव ५६ प्रतिशत, गोलभेँडा १८ दशमलव ८० प्रतिशत महँगिएको छ।

]वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले विभागको टोली दैनिक बजार अनुगमन गरिगरेको बताए। महँगी नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै बढेको उनले बताए।

महानिर्देशक शर्माले बाहिरबाट आयात गरेको वस्तुको मूल्य विभागले नियन्त्रण गर्न नसक्ने बताए। व्यापारीले कुनै पनि वस्तुमा अत्यधिक बढी लिएको वा उपभोक्ता संरक्षण ऐनको मापदण्डविपरीत व्यवसाय गरेको भेटिए विभागले कारबाही गर्ने गरेको उनको भनाइ छ।

महानिर्देशक शर्माले विभागको स्रोत–साधन र जनशक्ति अनुसार बजार अनुगमन दैनिक रूपमा गर्दै आएको बताए।

प्रतिक्रिया दिनुहोस्