मुख्यमन्त्रीहरुको भेला पोखरामा सुरु



सात ओटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पोखरामा विहिवार देखि सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् । सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् ।

अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन भेलामा छलफल सुरु भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्री एक स्वर बनाएर परिषदको बैठकमा प्रस्तुत हुन भेलाले एजेन्डा तयार पार्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्यमन्त्रीहरुले बताइरहेका छन् । प्रदेश सरकारलाई अधिकार दिने विषयमा संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या भएको गुरुङले बताउँदै आएका छन् ।

भेलालाई स्वागत गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशले गति लिओस् भन्ने चाहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नयाँ अभ्यास बनिरहेको अवस्थामा सुरु भएको भेलाबाट प्रदेशका अपेक्षा पूरा गर्न आधार तयार पार्ने उनले बताए । अग्रगामी संविधान कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भेलाले सम्बोधन गर्ने छ । भेलामार्फत प्रदेशको गतिको सुरु हुने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्