मकवानपुरबाट लागूऔषधसहित २ जना पक्राउ



मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशंकर सोनार रहेका छन्।

उनीहरूलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध नाइट्रोभेट ६ सय ट्याब्लेट, डाइजेपाम ९ सय ३० एम्पुलसहित बिहीबार पक्राउ गरेको हो ।

बिहीबार बिहान वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नंको यात्रुवाहक बसलाई हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार रञ्जितले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषधी बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधका बारेमा सोधपुछ गर्दा जटाशंकररले पठाएको भनी खुल्न आएको र रञ्जित बसभन्दा अगाडि ना २६ प ७९८० नंको मोटरसाइकलमा चितवनतर्फ गएको भनी बताएपश्चात् निजलाई समेत साथमा लिई चितवनतर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्