डेंगु नियन्त्रण गर्न सरकार असफल



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिना अघि फैलिएको डेंगु नियन्त्रण गर्न सरकार असफल देखिएकोे छ । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले देशमा फैलिएको डेंगु नियन्त्रण अभियानमा सरकार असमर्थ भएपछि डेंगु नियन्त्रणका लागि सेना र प्रहरी परिचालन गर्नुपर्ने आग्रह गरेका छन् । 

डेंगु नियन्त्रणमा सरकारले अझैँ हार नमानेको र यसका लागि सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग औल्याउँदै स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजित गरेको डेंगु रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने- 'डेंगुको लागि सबैको सहभागितामा अभियान नै चलाउनु पर्छ, आवश्यक परे पुलिस र सेना सबै मिलेर डेंगुलाइ परास्त गरौं ।'

डेंगु नियन्त्रणको लागि आमजनमानसमा यो विषयको जनचेतना अत्यावश्यक रहेको जनाउदै यादवले भने, ‘खेत, बारी, गमला आदिमा झुल लगाउन सकिँदैन, आमजनस्तरमा डेंगुको लार्भा नष्ट गर्ने जनचेतना नल्याएसम्म नियन्त्रण गाह्रो छ ।’

एकातिर डेंगु नियन्त्रणका लागि सरकारले गरेको खर्च निस्प्रभावी बन्दै गएको छ भने अर्का तिर लामखुट्टे जन्य प्रकोपका रुपमा रहेको डेंगुको प्रकोप डरलाग्दो बन्दै गएको छ । 

पहिले-पहिले तराईमा मात्र देखिने डेंगु अहिले पहाडि जिल्ला र उपत्यकामा पनि प्रकोपका रुपमा देखा परेको छ । 

पछिल्लो पटक उपत्यकामा पनि डेंगुको प्रकोप निकै बढेको छ । उपत्यकामा मात्रै ५९ जनाभन्दा धेरै व्यक्ति संक्रमित भएका छन । 

३० वैशाखमा धरानमा देखिएको डेंगु अहिलेसम्म ४४ जिल्लामा फैलिएको छ । यसलाई समयकै नियन्त्रण गर्न सकिएन भने महामारीको रुप लिने निश्चित छ । 

नेपालमै पहिलोपटक सन् २००४ मा झापामा डेंगु देखिएको थियो । त्यसयता क्रमशः देखिँदै आएको छ । सन् २०१० मा चितवनमा डेंगुले महामारीकै रूप लिएको थियो । पटक–पटकको प्रयासमा पनि नियन्त्रण आउन नसकेपछि सरकारले एक सय संख्यामा नेपाली सेना परिचालन गरेको थियो । सेना घरघरै गएर डेंगु नष्ट गरेको थियो । 

डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । यी लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। 

एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर, अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

डेंगु लागेको थाहा पाउने तरिका

संक्रमणकाल तीनखि दश दिनसम्मको हुन्छ । 

१०२ डिग्री देखि १०३ डिग्रीसम्मको उच्च ज्वरो आउँछ । 

टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने हुन्छ । 

सामान्यतया ज्वरो आएको तीनदेखि पाँच दिनपछि देखा पर्दछ । 

रोकथामका उपाय

पानी जम्न सक्ने भाँडाहरू जस्तै स् गमला, फूलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रम, गाडीको काम नलाग्ने टायरमा पानी जम्न नदिने । 

पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने ।

कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।

फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्ने ।

एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो पूरा बाहुला भएको वा पूरै शरीर ढाक्ने लुगा लगाउने । 

सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने । साना केटाकेटीलाई जुनसुकै समयमा झुलभित्रै सुताउने । 

लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्