१३ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या गरकाे अभियाेगमा चार जना पक्राउ



गाईघाट :  उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

 

तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी अर्जुन रानाभाटको नेतृत्वकाे टोलीले स्थानीय चार युवालाई नियन्त्रणमा लिएको हो । बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुन सक्ने स्थानीयबासीले अनुमान गरेकाले नियन्त्रणमा लिइएको उदयपुरका एसपी चन्द्रदेव राईले बताए । 

 

एसपी राईले शवको पोष्ट मार्टमबाट मात्र बलात्कारपछि हत्या हो वा अन्य भन्ने खुल्ने बताए । ‘डीएसपीको कमाण्डमा गएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ, तर यसै हो भन्ने अवस्था छैन, पोष्ट मार्टम र पक्राउ परेकाको बयानपछि घटनाको यकीन हुन्छ’, उनले भने ।  घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । 

 

अनुसन्धानका लागि लगिएको तालिमप्राप्त कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुन सक्ने अनुमान गरेको छ । त्यही ठाउँमा बालिकाको चप्पलसमेत फेला परेको वडाध्यक्ष दुर्गाराज खड्काले बताए । खोल्सामा बलात्कार गरेर हत्यापछि शव सडक नजिक ल्याएर फालेको हुन सक्ने अनुमान छ ।

 

शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खडकाकी छोरी आइतबार लाफा गाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्