सँगै सुतेका श्रीमानको बर्बरतापूर्वक हत्या !



काठमाडौं । बागलुङमा सँगै सुतेका श्रीमानको श्रीमतीले हत्या गरेको खुलेको छ । अर्कै महिलासँग कुरा गरेको भेटेपछि श्रीमतीले ओछ्यानमा सँगै सुतेका श्रीमानको हत्या गरेको पाइएको हो ।

जिल्लाको निसीखोला–५ कामीडाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय श्रीमान तुलबहादुर विकको हत्या गरेकी हुन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले कुमारी र उनकी बहिनी १८ वर्षीया मनिषालाई पक्राउ गरेको छ ।

गत २५ साउन राती कुमारीले श्रीमान तुलबहादुरको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् । पक्राउ परेका उनीहरुलाई आइतबार बागलुङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

यातना र घृणाको बदला लिन श्रीमानको हत्या गरेको कुमारीले प्रहरीसमक्ष दिएको बयानमा खुलाएकी छन् । आफूलाई विभिन्न आक्षेप लगाउने, होच्याउने र मायाप्रेम नगर्ने जस्ता कार्य श्रीमानले गर्ने गरेको कुमारीको दाबी छ ।

के थियो घटना ?
गत १ भदौमा निसीखोला गाउँपालिका–४ स्थीत निसीखोलामा टाउको काटिएको अवस्थामा एक युवकको शव भेटियो । हातमा कोपिएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका–५ का तुलबहादुर विकको शव भएको पत्ता लगायो ।

त्यसपछि अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवाली आफैं खटिए ।

अपराधलाई लुकाउन र अपराध गरेको व्यक्ति भाग्न नपाओस् भनेर एसपी ज्ञवाली आफै खटिएका हुन् ।

प्रहरी अनुसन्धानको क्रममा उनको एक हप्ता अगाडि नै हत्या गरेर खोलामा फालिएको खुल्यो । शवको पहिचान खुलेपछि प्रहरीले तुलबहादुरको हत्यामा संलग्न व्यक्तिको खोजी सुरु गर्यो । प्रहरीले घटनाको अनुसन्धान ४/५ शिराबाट थाल्यो ।

हत्याराको खोजी गर्ने क्रममा अनुसन्धानबाट तुलबहादुरको हत्यामा मृतककै श्रीमतीको संलग्नता रहेको पाएपछि प्रहरी आफैं झस्कियो ।

त्यसपछि प्रहरीले तुलबहादुरको हत्या आरोपमा श्रीमती कुमारीलाई पक्राउ गरेर बयान लिन थाल्यो ।

पतीसँग उनको धेरै राम्रो सम्बन्ध नरहेको देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । कुमारीले प्रहरीलाई दिएको बयान अनुसार सहबास गर्ने क्रममा गुनबहादुर अरु नै परस्त्रीको नाम लिई बर्बराएपछि आफूले श्रीमानको हत्या गरेको बताएकी छिन् ।

हत्या गरेको दिन (२५ साउन) रातको समयमा तुलबहादुरलाई उनकी पत्नी कुमारी कामीले दाउरा र घनले टाउकोमा प्रहार गरी बेहोस बनाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको एसपी ज्ञवालीले बताए ।

प्रहरीका अनुसार मृतक तुलबहादुर साउन २४ मात्रै काठमाडौंबाट घर फर्किएका थिए । रोजगारीको लागि मलेसिया भिसा लागेर घर फर्किएका तुलबहादुर २५ गते दिउँसोदेखि नै साथीहरुसँग रक्सी पिउन निस्के ।

विदेश जानका लागि भिसा आएपछि साथीहरुसँग रक्सी पिएर साँझतिर उनी घर फर्किए । ९ बजेतिर तुलबहादुर रक्सीले मातेर घरमा पुग्नासाथ अनाहकमा दुई वर्षकी निर्दोष छोरीमाथि कुटपिट गर्न थाले ।

घरमा सँगै रहेकी साली मनिषाले त्यसपछि दुई वर्षकी छोरीलाई आफूसँगै माथिल्लो तलामा लगेर सुताइन् । उनीहरु पनि (श्रीमान तुलबहादुर र श्रीमती कुमारी) पनि सुत्न गए । दुई वर्षकी छोरी मनिषाले लिएर सुतेकी थिइन् ।

सँगै सुतेको समयमा तुलबहादुरले एकजना साथीलाई फोन गरे । साथीहरुलाई फोन गर्ने क्रममा तुलबहादुरले अन्य महिलाको नाम लिए । जुनकुरा श्रीमती कुमारीले सहन सकिनन् । अनि उनले हत्या गर्ने योजना बनाइन् ।

श्रीमानले अन्य महिलाको नाम लिएको सुनेर रिसाएकी श्रीमती कुमारीले सुतेकै स्थानमा घनले हानेर बेहोस पारेकी थिइन् । त्यसपछि चिर्पट दाउराले हानेर हत्या गरेपछि खुकुरीले घाँटी रेटेर छिनालेको प्रहरीसँगको बयानमा बताएको एसपी ज्ञवालीले बताए ।

एसपी ज्ञवालीका अनुसार मृतकको टाउको अझै भेटिएको छैन । घटनामा मृतककी साली मनिषाले पनि साथ दिएको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि ज्ञवालीसहित अन्य प्रहरी अधिकृत पनि खटिएका थिए । घटनास्थल पत्ता लगाउन पनि प्रहरीलाई हम्मे परेको थियो ।

कुमारीले हत्या आरोप स्वीकार गरे पनि प्रमाण मेटाउन र लास ठेगान लगाउन मनिषाको सहयोग थियो थिएन भन्ने विषयमा थप अनुसन्धान जारी छ । ‘अनुसन्धान सुरु गरेको ५६ घण्टामा हत्यारा पत्ता लगायौं,’ एसपी ज्ञवालीले भने, ‘अन्य विभिन्न पाटाहरुमा अनुसन्धान बाँकी छ ।’

विवाह भएको ६ वर्षमा गुनबहादुरले धेरै महिलासँग फोन र म्याजेज गर्ने र पत्नीलाई चिढ्याउने गरी भ्वाइस म्यासेज पठाएको भेटिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । लेख्न पढ्न नजानेकी पत्नीले सुन्नसक्ने गरी भ्वाइस म्यासेज पठाउने गरेपछि पत्नी कुमारी पतिप्रति आक्रोशित थिइन् ।

अभियुक्त कुमारीलाई पक्राउ गरिएको साथै उक्त घटनाको सूचना प्रहरीलाई जानकारी नगराउने (सूचना लुकाउने) कुमारी कामीकी बहिनी मनीषालाई समेत भदौ ४ गते नियन्त्रणमा लिइएको एसपी ज्ञवालीले बताए ।

पक्राउ परेका कुमारी र मनीषालाई प्रहरीले आइतबार जिल्ला अदालत बागलुङबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

तुलबहादुर र कुमारीको २०७३ सालमा विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्