आधुनिक समाजको भावुकी र सतहीकरण



काठमाडौं : ब्रिटेनमा अत्यधिक चर्चित, अत्यधिक मन पराइएकी राजकुमारी डायनाको ३१ अगस्ट १९९७ मा उनका पुरुष मित्रसँग कार दुर्घटनामा निधन भएपछि उनीप्रति स्वस्फूर्त रूपमा असोचनीय र अभूतपूर्व स्तरको आम भावविह्वोलता प्रकट भयो। उनको अन्त्येष्टिका दिन ३० लाख मानिस सडकमा निस्किए। स्थिति यस्तो थियो कि कसैले डायनाका कमजोरीबारे एक शब्द बोल्न पनि हिचकिचाउनु पथ्र्यो। मान्छे ईश्वरका विरुद्ध बोल्न सक्थे, डायनाका विरुद्ध बोल्न डराउँथे।

त्यसको अर्को वर्ष सन् १९९८ मा सामाजिक मामिलामा गम्भीर बहस चलाउने ब्रिटेनको एउटा थिंक ट्यांक ‘सोसल अफियर्स युनिट’ ले एउटा पुस्तक प्रकाशित गर्‍यो। पुस्तकको शीर्षक थियो, फेकिङ इट : द सेन्टिमेन्टलाइजेसन अफ मर्डन सोसाइटी। नेपालीमा भावानुवाद गर्दा त्यसलाई लगभग ‘आधुनिक समाजको भावुकी र सतहीकरण’ भन्न सकिन्छ। उक्त पुस्तकमा सामाजिक नीति, वातावरण, धर्म, साहित्य, संगीत, सञ्चारमाध्यमजस्ता समाजका विविध पक्ष कसरी भावुकीकरण भएका छन् र त्यसले समाजलाई कसरी सतहीकरण गरेको छ भन्ने सम्बन्धमा प्रतिष्ठित पत्रकार तथा प्राज्ञहरूका निबन्ध समेटिएका थिए। यस विषयमा  आजको अन्नपूर्ण पोष्ट दैनिकमा रवीन्द्र मिश्रले लेखेका छन् ।

सो पुस्तकका सम्पादकद्वय डिग्वी एन्डरसन र पिटर मुलनले पुस्तकको परिचयात्मक निबन्ध ‘सतही समाजको सोच’ मा समाजबारे व्याख्या गर्दै यस्तो लेखेका छन् : आधुनिक समाजले बढ्दो अपराध, विद्यालयको घट्दो स्तर, परिवारको विखण्डन तथा व्यापकरूपमा नैतिक र आचरणगत अन्योलको सामना गरिरहेको छ।

अत्यधिक आर्थिक सफलता प्राप्त गर्दागर्दै पनि केही गम्भीर गल्ती भएका छन्। ती गल्तीको उपचारका उपाय सामान्यतया उही सुझाइन्छ। एक पक्षले खराब विचार, सिद्धान्त र नीतिलाई दोष दिन्छन् भने अर्को पक्षले स्वार्थ, संरचना र समाजको बनोटलाई दोष दिन्छन्। तर, समस्याको स्रोत ती दुवै होइनन्। मूल समस्या भावनामा आएको भ्रष्टतामा छ। र, भावनामा आएको भ्रष्टता नै धर्म, नैतिकता, संगीत, साहित्य र अर्थपूर्ण संवादका लागि चुनौती बनेको छ। भावनामा बहने र सतहमा रमाउने समाजमा सत्य होइन, देखावटको जित हुन्छ। हामी रूप र सारबीचको अन्तर छुट्ट्याउन सक्दैनौं।

समाजको सतहीकरणका विविध पक्षलाई केलाएको सो पुस्तकले त्यसमा प्रकाशित एउटा निबन्धका कारण व्यापक चर्चा कमायो, जुन डायनाको मृत्यु र तत्पश्चात् उर्लिएको भावविह्वोलतालाई लिएर गरिएको टिप्पणी थियो। दर्शनशास्त्रका प्राध्यापक तथा रोयल इन्स्टिच्युट अफ फिलोसफीका मानार्थ निर्देशक एन्थनी ओ’ ह्यरको उक्त निबन्ध, ‘डायना, हृदयकी रानी : भावनात्मकताको वैयक्तीकरण र देवत्वकरण’ ले कसैले सानो ढुंगा पनि फ्याँक्न नसकेको शान्त तलाउमा सुनामी ल्याइदियो। तर, तथानाम, आधारहीन र पूर्वाग्रहपूर्ण ढंगबाट गाली र तर्क गरेर होइन, वस्तुपरक, सैद्धान्तिक र तथ्यगत विश्लेषण गरेर। कतिसम्म भने प्रधानमन्त्री टनी ब्लेयरले मध्यपूर्वको यात्राका बीचमा समय निकालेर सो निबन्धमा व्यक्त विचारको भत्र्सना गरे।

उक्त निबन्धमा लेखकले डायनाका कमजोरीको चर्चा गर्नुका साथै उनलाई कसरी देवत्वकरण गरियो भन्नेबारे व्याख्या गरेका छन्। उनी लेख्छन्, ‘डायना तर्क, यथार्थ र संयमभन्दा भावना, छवि र स्वस्फूर्तताको प्रतीक बनेकी थिइन्।’ सो पुस्तकले ब्रिटिस समाजबारे एउटा फरक र सोचनीय दृष्टिकोण प्रस्तुत गरेको छ। यद्यपि, पुस्तकमा समेटिएका धारणा बाँकी संसारको पनि प्रतिविम्ब हुन् भन्दा फरक पर्दैन। मैले सो पुस्तकको प्रसंग कोट्याउनुको कारण छ। उक्त पुस्तकमा म झन्झन् बढी खासगरी तुलनात्मक रूपमा शिक्षित नेपाली समाजको प्रतिविम्ब पाउन थालेको छु, जहाँ तर्क, यथार्थ र संयमभन्दा भावना, छवि र स्वस्फूर्तता प्रधान भएको देखिन्छ। हालै नेपालका प्रतिष्ठित समाजशास्त्री डा. चैतन्य मि श्रले पनि बीबीसी नेपाली सेवामा गरेको एउटा विश्लेषणमा लगभग त्यस्तै अभिव्यक्ति दिए, ‘भावनाका अगाडि तर्क र तथ्यहरू कमजोर बनेका हुन्छन्। त्यसैले सबैभन्दा पहिले हामीले तथ्यका आधारमा तार्किक भएर सोच्नु जरुरी छ।’

नेपाली समाजको विकृति, अविकास र पीडाको कारण एउटा छ, उपचार हामी अर्कैमा खोजिरहेका छौं। जरा कुहिएको छ, हामी पातपात र हाँगाहाँगामा औषधि हालिरेहका छौं। काठमाडौंमा या देशका अन्य सहरका सडकमा स्वस्फूर्तरूपमा नागरिकहरू उर्लिएका बेला मलाई कहिलेकाहीं लाग्छ, हामी हाम्रा भावनामा इमानदार हुँदाहुँदै पनि कति सतही छौं। त्यसो गर्दा, ‘ईश्वर बस्दछ गहिराइमा सतह बहन्छौं कति दूर’ भनेझैं हामीले सतहमा दौड्ँदा अन्तर्निहित सत्य बिर्सिरहेका हुन्छौं। त्यसले समस्याको दीर्घकालीन समाधान पहिल्याउनै दिँदैन।

हालैका समयका केही प्रतिनिधि उदाहरण लिऊँ। त्यसको पछिल्लो उदाहरण लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको हो। आत्महत्या गरेका पूर्वसहकर्मीले लामिछानेको नाम आफ्नो आत्महत्याको एकजना प्रमुख कारकका रूपमा मृत्युकथनमा उल्लेख गरेपछि उनलाई पक्राउ गरियो। उनलाई पक्राउ गरिएपछि देशका विभिन्न सहरमा उनको समर्थनमा जुलुसहरू निस्किए। सामाजिक सञ्जाल रविमय भयो।

नेपाल ‘सार्वजनिक रूपमा देखिने आदर्श व्यक्ति’ हरूको खडेरी परेको देश हो। प्रशासन, प्रहरी, सेनादेखि राजनीतिसम्म हरेक क्षेत्रमा बाहिर नदेखिने आदर्श व्यक्तिहरू नभएका होइनन्। तर विडम्बना के हो भने, संसारभरि नै समाजको भावुकीकरण र सतहीकरणको एउटा प्रमुख स्रोत सार्वजनिकरूपमा देखिने कर्म गर्ने व्यक्तिहरू हुन्। त्यसमा सबैभन्दा ठूलो प्रभाव टेलिभिजन र हालैका वर्षमा आएर सामाजिक सञ्जालको हुने गरेको छ। लामिछानेको कामको प्रभाव पनि ठूलो हदसम्म टेलिभिजन र सामाजिक सञ्जालसँग जोडिएको छ, जसलाई उनले कमजोर राज्य भएको हाम्रोजस्तो देशमा आवाजविहीनहरूको आवाजका रूपमा प्रयोग गरेको आम अनुभूति छ। यस्तो अवस्था सृजना भयो जहाँ ठग व्यक्ति, संस्था र राज्यबाट दु:ख पाएकाहरू समस्या सुल्झाउन राज्यका निकायमा नगएर लामिछानेको टेलिभिजन कार्यक्रममा जान थाले। समाजमा त्यसको व्यापक प्रभाव पर्ने नै भयो।

सार्वजनिक सेवाका विशिष्ट काम गर्ने भए पनि टेलिभिजन या सामाजिक सञ्जालमा नियमितरूपमा नदेखिने धेरै नेपालीहरूका बारे खासै चर्चा हुँदैन‍ र तिनका बारेमा समाज उद्वेलित हुँदैन। किनभने, उनीहरू ‘सिलेब्रटी’ होइनन्। उदाहरणका लागि लामिछानेको घटनाभन्दा केही महिना पहिले त्यस्तै चरित्रको अर्को घटना भयो। उत्तम सञ्जेल न्यून आयका ५० हजारभन्दा बढी विद्यार्थीलाई महिनाको सय रुपैयाँमा तुलनात्मक रूपमा गुणस्तरीय शिक्षा दिने समता स्कुल र सय रुपैयाँ तिरेपछि अस्पतालभित्रका सबै सेवा नि:शुल्क हुने समता अस्पतालका संस्थापक हुन्। एकजना किशोरीले सो अस्पतालमा आत्महत्या गरेपछि उनको खल्तीमा उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलको नाम लेखिएको कागजको टुक्रामा भेटियो। उनले लामिछानेजस्तै प्रहरी हिरासतमा समय बिताएपछि अहिले मुद्दा चलिरहेको छ। उत्तम सञ्जेलले दीनदु:खीका लागि गरिरेहको कर्म अल जजिरा, बीबीसी, एनएचके वल्र्डजस्ता संसारका कयौं प्रतिष्ठित समाचार संस्थाहरूले सम्प्रेषित गरिसकेका छन्। तर उनीहरूको पक्षमा समाज उद्वेलित भएन किनभने त्यो टेलिभिजन र सामाजिक सञ्जाल प्रधान कर्म थिएन।

सत्कर्म गर्नेहरूको संख्या न्यून रहेको समाजमा सत्कर्म गरेको देखिएकाहरू र सार्वजनिकरूपमा नदेखिने गरी आफ्नै तहमा सुकर्म गरिरहेकाहरूले बेइमानी नगरून्, समस्यामा नपरून्, तिनमाथि लगाइएका आरोपहरू सही सावित नहोऊन् भनेर म सधैं कामना गर्ने गर्छु। तर, त्यस्तो कामना गर्नुको अर्थ तिनबाट गल्ती भएको रहेछ भने पनि ती निर्दोष सावित होऊन् या दोषीले दण्ड नै नपाऊन् भन्ने होइन। र, भावनाले मुद्दाको वस्तुपरकतामा प्रभाव पार्नु पनि हुँदैन। तर, गर्नैपर्ने एउटा प्रश्न के हो भने, लामिछानेजस्तै आरोप व्यहोरेर जेल जीवन बिताइरहेका या मुद्दा खेपिरहेका गुमनाम सर्वसाधारणको न्याय पाउने अधिकार सार्वजनिक व्यक्तिको जत्तिकै छ कि छैन ? तिनका पक्षमा मानव सागर किन उर्लिंदैन ?  किनभने, आधुनिक समाजको भावुकीकरण र सतहीकरणलाई टेलिभिजन र सामाजिक सञ्जालले प्रभाव पार्छ र आम नागरिकको ध्यान त्योभन्दा पर जाँदैन।

हामीले हाम्रो सेवा गर्न भोट दिएर नेतृत्वमा पुर्‍याएका नेताहरू बिचौलिया, व्यापारी, आफ्नो र परिवारको सेवा गर्छन्, किन हामी तिनको मायाजालबाट मुक्त हुन सक्दैनौं ?

लामिछानेको पक्षमा जुन भावविह्वोलता प्रकट भयो, त्यो सरसर्ती हेर्दा उनका पक्षमा थियो। तर, त्यसको गहिराइ खोतल्ने हो भने त्यो नेपालको सरकार, राज्यव्यवस्था र त्योभन्दा पनि बढी कानुनी शासनप्रतिको अविश्वासको अभिव्यक्ति हो। सरकार र कानुनी शासन अभ्रष्ट भएका देशमा पनि लोकप्रिय सार्वजनिक व्यक्तित्व पक्राउ पर्छन्। त्यस्ता कैयन् व्यक्तिहरू निर्दोष प्रमाणित भएका र दोषी सावित भएर सजाय भोगेका पनि छन्। तर ती देशमा सञ्चारमाध्यमले या सडकमा निस्किएको भीडले ती व्यक्तिलाई दोषी या निर्दोष करार गर्दैनन्। हाम्रो देशको भने कुरा बेग्लै छ। यहाँ दोषी र निर्दोष करार गर्ने जिम्मा कहिले राजनीतिज्ञले, कहिले सञ्चारमाध्यमले, कहिले भीडले, कहिले बिचौलियाले, कहिले पैसाले र कहिले अदालतले गर्ने गर्छ। परिणामस्वरूप, धेरैको विश्वास के छ भने, नेपालमा जेलमा मुर्झाउनुपर्ने धेरै मानिस बगैंचामा फुलेका छन् र बगैंचामा फुल्नुपर्ने धेरै जेलमा मुर्झाएका छन्।

अब डा. गोविन्द केसीको चर्चा गरौं। स्वास्थ्य शिक्षा सुधारबारे उनले उठाएका प्रमुख माग र अनशनमार्फत गरिएका सत्याग्रहका असाधारण शृंखलाले आम भावनालाई उद्वेलित पार्नु स्वाभाविक थियो। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध आवाज उठाउँदा आम जनताको साथ पाउनु स्वाभाविक थियो। तर, सतहीकरण भएको समाजले डा. केसीको समर्थन गर्दा या लोकमानसिंह कार्कीको विरोध गर्दा ती तात्कालिक घटनाका पात्रमात्र थिए, वास्तविक समस्या देशको चरमरूपमा विकृत राजनीति र त्यसले निर्माण गरेको राज्य संयन्त्र हो भन्ने बिर्सिएको थियो।

हरेक दिन पत्रपत्रिकामा अहिलेका प्रमुख नेताहरूको कुकृत्यको फेहरिस्त पढ्दा या टेलिभिजनमा हेर्दा, समाज रवि लामिछाने या गोविन्द केसीको हकमा जस्तो किन उद्वेलित हुँदैन ? निष्पक्ष न्याय सम्पादन नहुँदा सयौंको संख्यामा निर्दोष र गरिब नेपाली जेलमा जीवन बिताउन बाध्य भएको बताइन्छ, तिनका लागि किन मानिस सडकमा आउँदैनन् ? गरिबहरूको नाममा राजनीति गर्ने ‘गरिबहरू’ कोही अर्बपति भए, कोही करोडपति भए तर वास्तविक गरिब गरिबीकै चपेटामा छन्, किन जनता एकै चोटी बोल्दैनन् ? नजिकै स्वास्थ्य चौकी नभएर अझै पनि हर दिन मर्न बाध्य नेपालीहरू अनगिन्ती छन्, नेताहरू विदेशका महँगा अस्पतालमा उपचार गर्न जान्छन्, किन बिरामी समाजका नागरिक आफ्नै लागि जाग्दैनन् ? हामीले हाम्रो सेवा गर्न भोट दिएर नेतृत्वमा पुर्‍याएका नेताहरू बिचौलिया, व्यापारी, आफ्नो र परिवारको सेवा गर्छन्, किन हामी तिनको मायाजालबाट मुक्त हुन सक्दैनौं ?

यी सबै प्रश्नको उत्तर समाजको भावुकीकरण र सतहीकरणसँग गाँसिएको छ, जहाँ मानिस हावाको झोकासँगसँगै बहकिन्छन्। रोगको कारण होइन, लक्षणमा मलम लगाउँछन्। आफ्नो सतही यात्राको ‌औचित्य दर्शाउन इतिहास र समाज विज्ञानको साहारा लिन्छन्। ब्रिटेनजस्तो तुलनात्मकरूपमा सुसंस्कृत राजनीति, कानुनी शासन, प्राज्ञिक, सांस्कृतिक इतिहास र समृद्ध समाज भएको देशमा समाजको भावुकी र सतहीकरणबारे ठूलो चिन्ता विद्यमान छ भने हामीजस्तो पिछडिएको, अल्पज्ञानी, कुसंस्कारयुक्त, भ्रष्ट तथा अविकसित समाजमा त्यो समस्या छैन भन्नु आफैंले आफैंलाई भ्रमको पर्दाले छोप्नु समान हुनेछ।

समाजको दिगो रूपान्तरणको वाधक बनेको भावुकीकरणलाई तथ्यको कसीमा नघोट्ने र सतहीकरणलाई चिरेर गहिराइसम्म नपुग्ने हो भने हामीलाई हाम्रा विरोधाभासबाट माथि उठ्न धेरै कठिन हुनेछ। तथ्य के हो भने सत्यको वृक्षमा असत्यको किरा लागेको छ, हामी बारम्बार पात र हाँगामा औषधि छर्किरहेका छौं। भुईं खोतलेर किरा नै नफाल्ने हो भने हाम्रो रोगको निदान हुने छैन।

ती दीर्घ रोग कहिले सुरुङ युद्धको गर्जनमा लम्पसार पर्ने छ, कहिले व्यापारीको विमानमा सानदारले उड्ने छ, कहिले ठेकदार त कहिले नातेदार भएर प्रकट हुने छ, कहिले बालुवाटारको जग्गामा रुमलिने छ, कहिले त्यो लोकमानसिंह कार्की बनेर अख्तियार पुग्ने छ, कहिले महाभियोगको रूप धारण गरेर सुशीला कार्कीमाथि प्रहार हुने छ, कहिले बिचौलियाको रात्रिभोजमा मार्सी चामल बनेर सजिन्छ, कहिले देश दोहन गरेको सम्पत्ति बोकेर अमेरिका र सिंगापुर दौडिन्छ, कहिले गोविन्द केसीलाई मरणासन्न बनाउँछ अनि आम सर्वसाधारणलाई न्यायचाहिँ न्यायालयमा होइन, सडकमा खोज्न बाध्य पार्छ।

यदि हाँगा र पातमा लागेको रोगमा औषधि हाल्नमै रमाइरहने हो भने, दशकौंसम्म हामीले त्यसै गर्‍यौं। अझै केही दशक त्यही गरौं। मौसम बदलिएसँगसँगै रोगका रूप बदलिरहने छन्, पात्र र घटना फेरिइरहने छन्, हामीचाहिँ औषधि छर्किरहौं। होइन, अब त अति भयो, मूल कारण नै खोजौं भन्ने हो भने, अब जरामा लागेका किरा फाल्नैपर्छ। नत्र हामी मौसमसँगसँगै बदलिने भावना र सतहमा बहिरहने छौं। समाजको सार्थक, समृद्ध र दिगो रूपान्तरण असम्भव हुनेछ।

प्रतिक्रिया दिनुहोस्