दिक्तेल रुपाकोटको निर्णय : सडक तथा पुल निर्माणमा समन्वय गर्ने, लेखा कर्मचारीको तलब वृद्धि गर्ने



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले अन्तरपालिका जोड्ने सडक तथा सडक पुलको पहिचान गरी निर्माणका लागि सम्वन्धित पालिकासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।

सडक तथा सडक पुल निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर), आइइइरइआइएरबिइएस र डिजाइन स्टीमेट तयार गरी संघीय तथा प्रादेशिक मन्त्रालय तथा निकायमा माग प्रस्ताव गर्ने निर्णय गरिएको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

अन्तरपालिका जोड्ने सडक, पुल लगायतका संरचना निर्माण वा कार्यक्रम सञ्चालनमा पालिका-पालिकाबिचमा समन्वय र सहकार्य हुन नसकिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका सहकार्यको निर्णय गरेको हो।

विद्यालय लेखा कर्मचारीको तलब वृद्धि

नगर कार्यपालिका बैठकले नगरका २१ वटा माविमा कार्यरत २१ विद्यालय लेखा कर्मचारीको तलव मासिक २० हजार पुर्‍याउने निर्णय गरेको छ ।

यस्तै, शिक्षातर्फको बजेट तथा कार्यक्रममा माबि तहमा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शिर्षकमा विगतका वर्षभन्दा कम रकम प्राप्त भएकोले विगतका वर्षहरुमा अनुदान दिइँदै आएको रकमबाट विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

त्यसैगरी नगर शिक्षक अनुदान शिर्षक अन्तर्गत विनियोजित रकमबाट विगतका वर्षहरुमा अनुदान दिँदै आएको विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्