गोकर्णेश्वरमा श्रद्धालुको भीड (फोटो फिचर)



काठमाडौं । आज कुशे औँशी । हरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रुपमा मनाउने परम्परा छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले वर्षभर देवकार्य र पितृकार्यका लागि प्रयोग गर्ने पवित्र कुश घर-घरमा भित्र्याएर कुशे औँशी पर्व मनाउने गर्दछन् ।

व्राह्मणले मन्त्रोच्चारणसहित पूजा गरेर यजमानको घरमा राख्ने कुशले परिवारको कल्याण हुने शास्त्रोक्त कथन छ । आज उखेलिएको कुश वर्षभर देव तथा पितृ कार्यमा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुशको आयु मात्र सोही दिन नै रहने शास्त्रप्रमाण छ । वैदिक सत्य सनातन धर्मावलम्वीले कुशलाई विष्णु भगवान प्रतिकको रुपमा पूजा गर्ने गर्दछन् ।

आजको दिन छोराछोरीले पितालाई मनपर्ने मिठाइ, फलफूल र अनेक मिष्ठान्न दिइ खुशी तुल्याइ पिताको मुख हेर्ने गर्दछन् । पिता गुमाएकाहरुले पिताको स्मरणमा पवित्र स्थानमा गएर श्राद्ध र तर्पण दिने प्रचलन छ । आज कुशे औँशीको दिन काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा भक्तजनहरुको भीड लागेको छ ।

पिता नहुनेहरुले पिताको स्मरणमा पवित्रधाम गोकर्णेश्वरमा गएर श्राद्ध, तर्पण एवं पिण्डदान दिएका छन् । उत्तरगयाका रुपमा परिचित गोकर्णेश्वरमा पिण्डदान गर्दा पितृदोषबाट मुक्त भइने धार्मिक विश्वास छ । नेपालको तनहुँस्थित देवघाटधाम, म्याग्दीको गलेश्वर लगायतका पवित्र धाममा आज पितृहरुको स्मरणार्थ पिण्डदान एवं तर्पण गर्नेको भीड लाग्छ ।

प्रतिक्रिया दिनुहोस्