गीत रेकर्डिङ : टेक खानु/नखानुको मज्जा



काठमाडौं । कुनै समय नेपालमा गीत रेकर्ड गर्ने थलो रेडियो नेपाल मात्रैै थियो । यहाँ स्वर परीक्षा दिएर पास भएपछि मात्र गायक–गायिका भएको प्रमाणित हुन्थ्यो।

त्यो बेला रेडियो नेपालमा गीत गाउनु सजिलो काम थिएन। वाद्यवादकसँग बसेर प्रत्यक्ष गीत रेकर्ड गराउनु जोखिम र चुनौतीपूर्ण थियो। लोकगायक कुमार बस्नेत त्यो समयको गीत रेकर्ड शैली सम्झिँदा रुन मन लाग्ने सुनाउँछन्।

‘हाम्रो पालामा अहिलेको जस्तो अत्याधुनिक स्टुडियोमा गीत रेकर्ड गराउने सुविधा थिएन। अहिले पो ट्र्याक र टेक भन्ने आयो । हामीले गीत गाउँदा रेडियो नेपालको एउटै माइकमा रेकर्ड गथ्र्यौं । त्योबेला वाद्यवादनसहित लाइभ गाउँथ्यौँ’, कुमार भन्छन्, ‘हामी ५–१० जना हुन्थ्यौँ। गीत गाइरहँदा कुनै वाद्यवादकले आफ्नो वादन बिगार्‍यो भने फेरि दोहार्‍याउनुपथ्र्यो। कहिलेकाहीँ त घाँटी सुकेर विरक्त लाग्थ्यो । रेडियो नेपालमा लामोमा ३ मिनेट १७ सेकेन्डको गीत मात्र बजाउन पाइन्थ्यो । त्यो हिसाबले ३ मिनेट १७ सेकेन्डमा गायनसँगै बाजा पनि बजाइसक्नुपथ्र्यो । अहिलेको जस्तो आधा घन्टा लामो गीत गाउन पाइँदैनथ्यो।’

कुमारका अनुसार त्यो समयमा कुनै गीत वाद्यवादकले गल्ती गरेकै कारण ५ पटकसम्म पनि गाउनुपथ्र्यो। ‘हाम्रो पालामा माणिकरत्नले गिटार बजाउन निकै समय लगाउँथे । उनी गिटार बजाउन साँझ ५ बजे सिंहदरबार छिरेपछि भोलिपल्ट बिहान मात्र निस्कन्थे’, कुमार सम्झन्छन्, ‘उनी कतिसम्म गिटार बजाउन सक्ने भने हात दुखेर हैरान नै हुन्थे। हामी बाहिरका कलाकारलाई रेडियो नेपालमा गीत गाउन निकै गाह्रो थियो । किनभने वाद्यवादकहरू चाँडो काम सकेर घर जान चाहन्थे । त्यो बेला बाजा बजाउने अन्य मान्छे हुँदैनथे ।’

कुमारको सम्झनामा केही गायक–गायिकाले पहिले नै रिहर्सल गरेर गीत रेकर्ड गराउने भएकाले २ घन्टामै २ गीत रेकर्ड गराउँथे। ‘कहिलेकाहीँ त बिहान १० बजेदेखि बेलुका ५ सम्म बजाएको बजायै हुन्थे नि’, उनी सम्झिन्छन् । अहिलेको गीत रेकर्डिङ शैली कुमारको समयभन्दा बिल्कुल फरक छ।

अर्थात् उसबेला वाद्यवादकको प्रत्यक्ष उपस्थितिमा गीत रेकर्डिङ गरिरहँदा अहिलेका सङ्गीतकार सङ्गीत तयार पारेर ‘हार्ड डिस्क’ वा ‘पेनड्राइभ’मा स्टुडियो पुग्छन्। गायक–गायिकाले गीत गाउन मात्र बाँकी राखेर सबै तयारी गर्दा अहिले पनि ‘वान टेक’मा गीत रेकर्ड गराउन सकस नै पर्छ।

गायिका आनी छोइङ डोल्मा कम गीत गाउनेमा पर्छिन्। तर जति गाउँछिन्, त्यसको चर्चा नै हुन्छ। उनले गीत रेकर्ड गराउँदा धेरैपटक ‘टेक’ खाएकी छिन्। ‘सङ्गीतकारले, कम्पोजरले स्टुडियोमै बोलाउँछन्, स्टुडियोमै रियाज गर्दै गाएपछि टेक धेरै खाइन्छ’, आनी भन्छिन्, ‘फूलको आँखामा फूलै संसार गाउँदा यस्तो समस्या थिएन। किनभने न्ह्यू बज्राचार्यसँग काम गर्दा हामीले धेरै तयारी गरेका थियौँ । त्यसकारण यो गीत रेकर्डमा समस्या देखिएन ।’

आनी आफूलाई अन्य गायक–गायिकासरह ‘व्यावसायिक’ मान्दिनन्। ‘एउटा गीत गाउँछु। गीत गाइसकेपछि योभन्दा अलिक राम्रो गाउन सकिन्छ कि भन्ने असन्तुष्टि हुन्छ । भोलिपल्ट फेरि एकपटक दोहोर्‍याऊँ है भन्ने हुन्छ’, आनी भन्छिन्।

गायन करियरमा आनीलाई पछिल्लो पटक १ हलिउड प्रोजेक्टका लागि अङ्ग्रेजी गीत गाउन निकै गाह्रो भएको रहेछ। आनी खुलिन्, ‘त्यो गीत गाउँदा मानसिक रूपमा डिस्टर्ब अनुभव भएको थियो । किनकि राम्रोसँग गीत गाउन सकिनँ भने त्यसको असर नेपाली समुदायमा पर्ने हुन्थ्यो । त्यो गीतमा मैले निकै मिहिनेत गरेकी थिएँ।’

गायिका टीका प्रसाईं र आनीको कुरा केही मिल्दोजुल्दो छ । टीकाको अनुभवमा गीत रेकर्ड गराएपछि पनि केही कुरामा चित्त नबुझ्दा त्यसलाई पुनः गर्न मन लाग्दोरहेछ। ‘शब्द गलत भयो, शब्द मिलाउनुपर्‍यो र उच्चारण गलत भयो भने टेक खाइन्छ। आफूलाई चित्त नबुझ्दा पनि सङ्गीतकार र रेकर्डिस्टले ‘ओके’ भनिरहन्छन्।

उनीहरूले ‘ओके’ भने पनि आफूलाई चित्त बुझेको चाहिँ हुँदैन’, टीका भन्छिन्, ‘मुख्य कुरा फिलिङ्स हो। रेकर्डिङ गर्दै जाँदा फिल आउँदै जान्छ। पुनः टेक लिएर त्योभन्दा अझ राम्रो गरौँ जस्तो लाग्छ।’ टीकाले सोलो गीत गाउँदा सामान्यतयाः १ घन्टा र डुएट गाउँदा १५ मिनेट समय लगाउँछिन्। ‘गीत गाउँदै जाँदा कसैको भोकल सुक्छ । तर मेरो हकमा चाहिँ गाउँदै जाँदा खुल्दै जान्छ र फिल आउँछ’, उनी भन्छिन्।

गायकद्वय राजेशपायल राई र स्वरूपराज आचार्य आफूलाई ‘कम समयमै गीत गाउने गायक’ दाबी गर्छन्। राजेशको भनाइमा उनी गीत गाउँदा ‘टेक’ खाँदैनन्। ‘मलाई सङ्गीतकार र निर्माताहरूले टेक नखाने गायकका रूपमा चिन्नुहुन्छ। मैले फिल्म ‘ईश्वर’ का लागि शम्भुजित बास्कोटाको सङ्गीतमा गीत रेकर्ड गराउँदा धेरैपटक टेक खाएको थिएँ।

त्यो गीतको रेकर्ड साँझ ७ बजेबाट सुरु गरेर बिहान ३ बजे सकेका थियौँ’, राजेश सम्झन्छन्, ‘मेरो करियरमा सबैभन्दा धेरै टेक खाएको गीत त्यही हो। नत्र त म अधिकतम आधा घन्टामा रेकर्डको काम सिध्याउँछु । फिल्म ‘डर’ को गीत तुरुन्तै चाहिने भएपछि रातारात रेकर्ड गराएको थिएँ । यसमा पनि समय लागेको थियो । मैले १५ मिनेटमै रेकर्ड गराएको गीत ‘म त मर्छु कि क्या हो ठूली’ हो ।’

स्वरूप चाहिँ कुनै गीत रेकर्ड गराउनुपरेमा घरमा नै त्यसको तयारी गरेर जाँदा रहेछन् । त्यहीकारण उनलाई कुनै समस्या नपरेको उनको बुझाइ छ। ‘अन्य गायक–गायिकाले १–२ घन्टा लगाएको सुन्छु । तर म चाहिँ घरमा नै तयारी गरेर जान्छु । जसले गर्दा समय लाग्दैन’, उनी भन्छन्, ‘म कुनै गीत २० मिनेट त कुनै गीत आधा घन्टासम्म रेकर्ड गराउँछु । घरमै अभ्यास गरेर गएपछि गीतका शब्दमा ‘कन्फ्युजन’ हुँदैन । मेरा चलेका धेरै गीतहरू ‘वान टेक’ मै गाएको छु।’

गायक प्रमोद खरेल गीतको शब्दले ‘कति टेक खाने’ वा ‘कति टेक दिने’ भन्ने निक्र्योल हुने बताउँछन्। ‘हाम्रो चाहना राम्रो गरौँ भन्ने नै हो। कहिलेकाहीँ एउटै गीत गाउन ३ घन्टा पनि लाग्न सक्छ र लागेको पनि छ।

कुनै गीत १५ मिनेटमा पनि सकिन्छ’, उनी भन्छन्, ‘छिटो गाउनु र ढिलो गाउनुमा कुनै सरोकार हुँदैन। गीत गाउनु भनेको फिल्मको सुटिङ जस्तो होइन।’ प्रमोदका अनुसार ‘सुनैको दरबार’ गीत उनले २० मिनेटमा नै रेकर्ड गराएका थिए।

प्रतिक्रिया दिनुहोस्