सयौँ बिघा डुबानमा, बिचल्लीमा ३० परिवार



  • विशाल बस्नेत

महोत्तरी । वर्षासँगै बाँध भरिएर सबै पानी पैनीमा सोझिँदा महोत्तरी एकडारा-६ की सरस्वती यादव अहिले निकै चिन्तित छन् । रातु नदीबाट सोझै पैनीमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको झण्डै १ बिघा जग्गा डुबानमा परेको छ । अव्यवस्थित पैनीमा आएको पानी, खेत र बारीमा फिँजिएपछि बारीमा लगाएको तरकारी बाली मात्र होइन, खेतमा लगाएको धानमा समेत सरस्वतीले निकै नोक्सान बेहोरेकी छन् ।

बाँध र पैनी व्यवस्थित हुन नसक्दा सरस्वती मात्र होइन, रामवती मण्डलको पनि उस्तै अवस्था छ । वर्षाका कारण बर्सेनि यस्तै समस्याबाट गुज्रिरहेकी मण्डलले यस वर्ष पहिलेभन्दा बढी नोक्सान बेहोर्नुपर्‍यो ।

थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिँदै गएको छ । ‘अब खै यसपालि त भोकमरी नै लाग्ला जस्तो छ’, उनले भनिन् । सरस्वती र रामवतीको जस्तो खेतबारी डुबान मात्र होइन, एकडारा-६ गनरापुरामा धेरै घरसमेत पैनीमा आउने बाढीको चपेटामा परेका छन् ।

पैनीमा भरिएर आएको बाढीले गनरापुराकै रविशङ्कर दासको परिवार यतिबेला घर न घाटको बनेको छ । पैनीसागै जोडिएको उनको घरमा एउटा कोठाबाहेक सबै ठाउँमा बाढी पसेको छ । ‘अहिले सबै परिवार एउटै कोठामा गुजारा गरिरहेका छौँ’, उनले भने । स्थानीय सरकार तथा सरोकारवाला निकाय बर्सेनि बल्झिरहने उक्त समस्याप्रति बेखबर बन्दा समस्या झन बढ्दै गएको उनीहरूको गुनासो छ ।

पैनी व्यवस्थित बन्न नसक्दा पैनीमा भरिएर आएको बाढी गाउँका विभिन्न भागमा फैलिएको छ । खेतहरूमा गेगर र माटोले भरिभराउ भएको छ । खेतमा ठूलाठूला पोखरी बनेका छन् भने बाली लगाएको जमिनबाट बाढी बगिरहेको छ । बाढीका कारण यहाँको सडक सञ्जालसमेत जीर्ण बनेको छ ।

‘यसपालि खासै वर्षा भएको छैन, सामान्य वर्षा हुँदा त पैनीमा आएको बाढीले यत्रो बितण्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला ?’, ७० वर्षीय सुरदेव यादवले चिन्ता व्यक्त गरे ।

अघिल्लो वर्ष रातु नदीको बाँध भरिएर यसैगरी सोझिएको यस पैनीले झण्डै २०० घर परिवारलाई नोक्सान पु¥याएको थियो ।
सो समयको सम्झना गर्दै स्थानीय जगदीश दास भन्छन्, ‘हामीलाई यो पैनीले निकै समस्या बनाउँदै आएको छ । बर्सेनि यो पैनीका कारण धेरैले घरबारविहीन बन्नुपरेको छ ।’

यही पैनीमा आउने बाढीले एकडाराको गनरापुरा मात्र नभएर पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी, थरवाई, सक्री, नेनी, वासुपट्टी जस्ता ठाउँहरू पनि निकै जोखिममा पारेको छ । अहिले पनि पैनीमा आएको बाढीले छेउछाउमा रहेका झण्डै ३० घर परिवार जोखिममा छन् । ‘पैनी नभए उत्पादन हुँदैन, पैनी हुँदा पनि समस्या छ । कमसेकम पैनीलाई व्यवस्थित गरेर ढलान गर्ने हो भने पैनीमा आएको बाढी फिँजिन पाउँदैनथ्यो’, स्थानीय रामविलासले भने ।

घरमै स्थानीय सरकार भए पनि सरकारको अभिभावकत्व महसुस नै गर्न नपाएको स्थानीयहरूको गुनासो छ । तर, नवनिर्वाचित जनप्रतिनिधि तथा एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण यादव स्थानीयहरूको उक्त समस्याप्रति ध्यानाकर्षण भएको बताउँछन् । गाउँमा रातु नदी, जङ्गाहा खोलाका कारण एकडारा मात्र नभएर मनरासिस्वा, रामगोपालपुर, औरही बर्दिबासमा समेत समस्या बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्