नेतृत्वविहीन वाणिज्य विभाग : व्यापारीलाई मस्ती, उपभोक्तालाई सास्ती



काठमाडौं । चाडपर्वको नजिकिँदै गर्दा सरकारले बजार अनुगमनलाई तीव्र बनाउनुपर्ने हो। तर, सरकारले बजार अनुगमनलाई तीव्र बनाउनु त कता हो कता, बजार अनुगमन तथा नियन्त्रण गर्ने नियामक निकायलाई नै नेतृत्वविहीन बनाएको छ।

चाडपर्वको मुखमा बजार अनुगमन गर्ने नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अहिले नेतृत्वविहीन छ । दसैँको मुखका विभागले बजारमा हुने अनुचित व्यापारिक क्रियाकलाप, कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई लिएर संयुक्तरूपमा बजार अनुगमन गर्नुपर्ने हो । तर, सरकारले नियामक निकायलाई नै नेतृत्वविहीन बनाएर बजारलाई व्यापारीको मनोमानी मौलाउन दिएको छ।

बजारलाई खुला व्यापारीको हातमा छाडिदिँदा सर्वसाधारण उपभोक्ता मारमा परेका छन्। सस्तोमा पाइने दैनिक उपभोग्य वस्तु महुँगोमा किन्न उपभोक्त बाध्य छन्। पछिल्लो समय स्थानीय बजारमा केही दैनिक उपभोग्य वस्तुको मूल्य घटेको छ । तर, व्यापारीले भने उपभोक्ताबाट बढी मूल्य नै असुल्ने गरेको उपभोक्ताको गुनासो छ।

नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार भटमासको तेलको प्रतिलिटर २५६ रुपैयाँ छ भने सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३०० रुपैयाँ छ। सङ्घको तथ्याङ्कअनुसार जेठ महिनामा भटमासको तेलको मूल्य प्रतिलिटर ३२० रुपैयाँ थियो भने सनफ्लावर तेल ३५० थियो। पछिल्लो समयमा तेलको मूल्य घटेको भए पनि उपभोक्ताले भने महँगोमै किनेर खानुपरेको छ।

सरकारी निकायको बजार अनुगमन नभएकै कारण व्यापारीले उपभोक्ताबाट मनपरी मूल्य असुली गर्ने गरेको उपभोक्ताकर्मी बताउँछन्। नेपालीको महान् चाड दसैँ नजिकिँदै गर्दा नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सम्बन्धित सबै निकायलाई लिएर संयुक्तरूपमा तीव्र अनुगमन गनुपर्ने उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।

सरकारले तीव्ररूपमा बजार अनुगमन गनुपर्ने अवस्थामा विभागलाई नै नेतृत्वविहीन बनाएर चाडवर्पको मुखमा व्यापारीलाई मनपरी गर्न दिएको अध्यक्ष तिमल्सिनाको आरोप छ। अध्यक्ष तिमल्सिना सरकारले बजारलाई व्यापारीको हातमा खुला छोड्दा व्यापारीले विभिन्न बहानामा उपभोक्ताबाट मनपरी मूल्य असुल्ने गरेको बताउँछन्।

उनका अनुसार दैनिक उपभोग्य वस्तु चामल, दाल, गेडागुडी, चिनी, पिठो, खाने तेल, हरियो तरकारीलगायत वस्तुमा व्यापारीले बढी मूल्य लिने गरेका छन्। अन्तर्राष्ट्रिय बजार मूल्य राष्ट्र बैंकमा मुद्रा सञ्चिति घटेको बहाना बनाएर उपभोक्ताबाट बढी मूल्य लिने गरेको अध्यक्ष तिमल्सिनाले बताए।

उपभोक्ताप्रति सरकार जिम्मेवार नहुँदा सर्वसाधारण मर्कामा पर्ने गरेको उनले बताए। राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले सरकार नै ठुला तस्कर व्यापारीले सञ्चालन गरिरहेको बताए। उनले सरकार व्यापारी तस्कारको हातमा हुँदा सरकारले दसैँको मुखमा बजार अनुगमन गर्ने नियामक निकायलाई नेतृत्वविहीन बनाएर व्यापारीलाई मनपरी गर्न दिएको बताए।

सरकार नै निरीह भएर व्यापारीको हातमा खुला बजार छोडेको अध्यक्ष महर्जनको भनाइ छ। उनले भने, ‘तराई क्षेत्रका उपभोक्ताले प्रतिकिलो चिनी ६० रूपैयाँ सहजै पाउँछन्। त्यही चिनी काठमाडौं आइपुग्दा १०० रुपैयाँ कसरी पर्छ ?’, उनले भने, ‘सरकार उपभोक्ताप्रति जिम्मेवार हुने हो भने अहिले बजारमा उपभोक्ताले प्रतिकिलोमा ८५ रुपैयाँसम्म चिनी सहजरूपमा पाउँथे। सरकारलाई व्यापारीले सञ्चालन गरिरहेको हुँदा उपभोक्ताले सस्तोमा पाउने दैनिक उपभोग्य वस्तु बढी मूल्य तिर्न उपभोक्ता बाध्य भएको उनको भनाइ छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले बजार अनुगमन तीव्र रूपमा गरिरहेको दाबी गरे। मन्त्री बडूले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वैशाख महिनादेखि हालसम्म विभागको अग्रसरतामा अनुगमन कार्यमा वृद्धि गरी १ हजार ३८७ फर्मको अनुगमन हुँदा कानुनविपरीत काम गर्ने ४०४ फर्मलाई कारबाही गरेको बताए । उनले ४०४ व्यापारिक फर्मलाई कारबाही गरी ८३ लाख ११ हजार राजस्व सङ्कलन गरेको बताए।

मन्त्री बडूले सरकारबाट आम उपभोक्ताले अनुभूत हुने गरी बजार अनुगमन गर्न नसकेको पनि स्वीकारेका छन्। उपभोक्ताले अनुभूति हुने गरी बजार अनुगमन गर्न एउटा केन्द्रीय सरकारले मात्र नभएर सबै स्थानीय तहले लाग्नुपर्ने उनको भनाइ छ। एक्लो केन्द्र सरकारले मात्र बजार अनुगमन गरी बजार नियन्त्रण हुन नसक्ने उनले बताए। प्रभावकारी बजार अनुगमन गर्न सरकार लागिपरेको मन्त्री बडूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्