काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा (फोटोफिचर)



काठमाडौं । काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी इन्द्रजात्रा मनाइएको छ। काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं महानगरका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोललगायत उपस्थित थिए।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा गर्ने परम्परा छ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरू भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

तस्वीर : बिजय तामाङ \टिएनटि

प्रतिक्रिया दिनुहोस्