लोसपा र एमालेबीच चुनावी तालमेल



काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सहकार्य हुने भएको छ। दुवै दलले चुनावमा तालमेल गरेर जाने विषयमा छलफल तीव्र पारेका छन्।

चुनावी सहकार्यबारे लोसपा अध्यक्ष महन्थ ठाकुर एमाले अध्यक्ष केपी ओलीसँग लगातार संवादमा छन् । ठाकुरले मङ्गलबार, बुधबार र बिहीबार ओलीसँग छलफल गरेका हुन्। यसअघि एमालेविरुद्ध महागठबन्धन बनाउने भन्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पनि ५ दलीय गठबन्धनमा मिसिन भनेका थिए।

त्यहीअनुसार ३ चरणमा वार्ता पनि भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको दबाबका कारण प्रधानमन्त्री लोसपालाई गठबन्धनमा भित्र्याउन अनिच्छुक देखिएपछि लोसपाले एमालेसँग निकटता बढाएको हो। देउवाले गठबन्धनभित्र लोसपालाई भित्र्याउनभन्दा पनि थामथुम पारिरहेका थिए।

लोसपामा अध्यक्ष ठाकुर निकट मानिएका नेता डा. सुरेन्द्र झाले पछिल्लो चरणमा एमालेसँगको छलफल सकरात्मक भएको बताए। ‘लोसपा र एमालेबीच छलफल सकारात्मक छ । चुनावमा तालमेल गरेर जाने विषयमा दुवै दलका अध्यक्ष सकारात्मक छन्।’

सत्ता गठबन्धनका तर्फबाट चुनावी सहकार्यको प्रस्ताव नआएपछि लोसपाले एमालेसँगको संवादलाई सघन बनाएको हो। नेता झाले भने, ‘एमाले र आफूहरूबीच तालमेल गरेर जाने विषयमा सैद्धान्तिक सहमति भएको छ। सिट बाँडफाँटको विषय कार्यदल बनाएर आपसी समझदारीमा निर्णय गरिनेछ।’ उनका अनुसार २ अध्यक्षबीच वार्ता भइसकेपछि दुवै दलबाट २/२ सदस्यीय कार्यदल बनाएर तालमलेलाई औपचारिक स्वरूप दिने तयारी भएको छ।

अध्यक्षयद्वय ओली र ठाकुरबीच लगातार वार्तापछि एमालेका दोस्रो तहका नेताहरू पनि संवादमा जुटेका छन्। लोसपासँग तालमेल गर्न एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता गोकुल बास्कोटाले पनि लोसपाका नेताहरूसँग वार्ता गरेका छन्। लोसपाका तर्फबाट अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले वार्ता गरेका थिए ।

लोसपा नेता अनिलकुमार झाका अनुसार चुनावमा तालमेल गर्ने विषयमा दुवै दलबीच सैद्धान्तिक सहमति भएको छ । ‘एमालेसँग तालमेलको सम्भावना बढेको छ। अब ५ दलीय गठबन्धनसँग तालमेल हुँदैन’, झाले द नेपालटपसँग भने । एमाले र लोसपाबीच सिट बाँडफाँटको विषयमा कुनै छलफल भएको छैन।

नेता झाका अनुसार कार्यदल बनेपछि मात्र सिटको विषयमा छलफल हुनेछ। २०७४ को चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीले १० र सङ्घीय समाजवादी पार्टीले ९ सिट जितेका थिए। लोसपा मधेसका ३२ मध्ये १९ सिट आफूहरूले पाउनुपर्ने पक्षमा छ। स्थानीय चुनावमा राम्रो नतिजा ल्याएको एमाले पनि मधेसमा यो चुनावमा आफ्नो पकड बढाउन चाहन्छ।

लोसपा नेता झा असन्तुष्ट

प्रतिनिधिसभा चुनावको तयारीमा गृहजिल्ला रौतहटमा रहेका लोसपा नेता अनिलकुमार झाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । रौतहट क्षेत्र–१ बाट उम्मेदवारी घोषणा गरेका झाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले पार्टीको गतिविधि जनमैत्री नभएको र चुनावी तयारी पनि नभएको भन्दै असन्तुष्टि जनाए । ‘पार्टीले जसरी चुनावलाई केन्द्रमा राखेर गतिविधि बढाउनुपर्ने हो, त्यो अहिलेसम्म देखिएको छैन’, झाले भने, ‘पार्टीको यस्तो क्रियाकलापले पार्टीलाई समस्यामा पार्छ ।’ द नेपालटपसँग कुरा गर्दै झाले भने, ‘म आफ्नै ढङ्गले चुनावको अभियान बढाएको छु । पार्टीले के गर्छ थाहा छैन।’

अहिले पार्टी परिवर्तन गर्ने वा अर्को पार्टीमा जाने अवस्था नरहेको जनाउँदै उनले आफू अहिले चुनावमा मात्र केन्द्रित रहेको बताए । झाको क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि उम्मेदवार सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्