२ वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ



लमजुङ । लमजुङ प्रहरीले लागूऔषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोर्दी गाउँपालिका-५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

चोरी मुद्दामा २ वर्ष अगाडी फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडारस्थित नयाँबजारबाट पक्राउ गरेको हो।

लागूऔषध गाँजा लिई हिँडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो। सुन्दरबजार-९ धारापानीमा बस्दै आएका गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ।

प्रहरी नियन्त्रणमा रहेका गुरुङलाई २४ गते शुक्रबार लमजुङ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी लागूऔषध (गाँजा) मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिवादी गुरुङ चोरी मुद्दामा २ वर्ष फरार रहेका थिए। चोरी मुद्दामा अदालतको फैसला अनुसार निजले २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना भुक्तान बाँकी रहेको लमजुङका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए।

प्रतिक्रिया दिनुहोस्