आत्महत्याबाट फर्किएपछि…



  • सुमन दाहाल

हेटौँडा । कल्पना गरौँ– १५ वर्षको किशोर, जसमा मनोसामाजिक समस्या छ। उसले समस्या भएको धेरै पछि मात्र थाहा पाउँछ कि आफू मनोसामाजिक समस्याबाट पीडित छु। पढ्नका लागि घरबाट टाढा बसेको किशोर, जसको आर्थिक अवस्था पनि कमजोर छ।

उसको मनोविज्ञान विस्तारै कमजोर हुँदै जान्छ। मस्तिष्कमा राम्राभन्दा नराम्रा कुराहरू मात्र खेलिरहन्छन्। तब उसले के गर्छ ?गोरखाको पालुङटारका ५२ वर्षीय मात्रिका देवकोटा यस्तै समस्याबाट गुज्रिए लामो समय। झण्डै ३० वर्षसम्म मनोसामाजिक समस्याबाट स्वयं पीडित बनेका देवकोटा पछिल्लो डेड दशकदेखि मानसिक स्वास्थ्य प्रवद्र्धनमा लागेका छन्।

पोखरामा अध्ययन गरिरहेका देवकोटा १९ वर्षको उमेरमा पढाइलाई छोडेर घर फर्किएर करिब ८ वर्ष घरमै बसे। त्यसबीचमा उनले पारिवारिक आर्थिक अवस्था कमजोर भएको महसुस गरे, चौबीसै घन्टा नराम्रा कुरा मात्र दिमागमा आइरहे। अन्ततः उनी आत्महत्या नै अन्तिम विकल्प हो भन्नेसम्मको सोचमा पुगे।

१० वर्ष मनोसामाजिक समस्याबाट गुज्रिएपछि देवकोटाले परिवारको सहयोगमा उपचारमा जाने निधो गरे। मनमा आफू किन अभागी ? सधैँ किन यस्तो सोच आइरहेको छ ? भन्ने विभिन्न प्रश्नहरूले बाँच्ने सोच हराइसकेका देवकोटाले मनोसामाजिक उपचार सुरु भएको १ वर्षमा ठूलो राहत महसुस भएको सुनाए।

देवकोटाले आर्थिक समस्याकै कारण उपचारको क्रममा काम सुरु गर्दा काम गर्न नसकेको स्मरण गरे। ‘उपचार सुरु भयो। उपचार सुरु भएपछि केही फाइदा पनि भयो तर त्यसपछि तुरुन्तै वर्षौंको गरिबी, काममा जानुपर्ने बाध्यता। म पढाउने काममा जान लागेँ’, देवकोटाले भने, ‘म तुरुन्तै पढाउन काममा जान हुने थिएन किनभने वर्षौं कलम–कापी चलाएको थिएन।

२७ वर्षको उमेरमा पढाउन भनेर गएँ, त्यहाँ जाँदा पढाउन नसक्ने भएँ । धेरै वर्ष कापी–कलम नचालएर त्यतिबेला त्यस्तो भयो।’
उनले आफू २९ वर्षको उमेर पुग्दा पुनः निरक्षर जस्तै भएको सुनाए।

‘२९ वर्षको उमेरपछि अरू सरह नै काम गर्न सक्ने महसुस भयो । त्यसपछि किन मान्छे मनोसामाजिक समस्यामा पर्छन्। यसलाई किन न्यूनीकरण नगर्ने भन्ने प्रश्नहरूले नै मलाई आफैँमा अभिप्रेरणा जाग्यो र मानसिक स्वास्थ्य प्रवर्द्धनमा लागेको छु’, देवकोटाले भने ।

उनले आफ्नो १५ वर्षे अनुभवमा मानसिक विचलन भएर साथ र सहयोग खोजिरहेको अवस्थामा साथ नदेखिएपछि आत्महत्याको बाटो रोज्नेहरू पाएको बताए। उनले मनोसामाजिक समस्या भएको अवस्थामा एक पटक मर्नै पर्ने, पीडा सहेर, सुनाएर केही नहुने सोचले दुर्घटना हुने गरेको बताए।

‘सहन एकदमै गाह्रो हुने रहेछ। गरिबीलगायत जीवनमा आउने विभिन्न समस्याले मान्छेलाई एक दिन मर्ने नै हो भने किन यो कष्ट भोगेर बाँच्ने भन्ने हुँदो रहेछ। मलाई पनि त्यो भयो’, देवकोटाले भने, ‘समयमै समस्या भएको पहिचान गर्न सकिए र साथ, सहयोग गर्न सकिए आत्महत्या हुनबाट जोगाउन सकिन्छ।’

उनले मनोसामाजिक समस्या मनको समस्या भएको बताए। मनोसामाजिक परामर्शले मनोरोगको समस्यालाई विस्तारै कम गर्न सकिने र केही वर्षमै पहिले जस्तो ठिक अवस्थामा पुर्‍याउन सकिने देवकोटाको भनाइ छ। देवकोटाले आफूले भोगेको समस्या पनि सिकाइको रूपमा लिएर मानसिक स्वास्थ्य प्रवद्र्धनमा लागेको बताए।

उनले जागिर खाएर काम गर्नुभन्दा नयाँ पाएको जीवन आफू जस्तै बिरामीलाई सहयोग गरेर बिताउने सोच बनाएर मनोरोगीहरूका लागि काम गरिरहेको समेत बताए। आफूलाई जस्तै अरूलाई नपरोस् भन्ने उद्देश्यले मनोरोगीहरूलाई परामर्श र उपचार गराउन सहयोग गर्ने उद्देश्यले २०६५ सालदेखि उनले काठमाडौंमा कोसिस संस्था स्थापना गरेर काम गरिरहेका छन्।

अहिले पनि मानसिक रोग र रोगीबारे समाजमा धेरै नकारात्मक बुझाइ रहेको भन्दै उनले मनोरोगका बिरामीहरूलाई बेलैमा चिनेर साथ र सहयोग गरेको अवस्थामा आत्महत्याको बाटो रोज्ने घटना रोक्न सकिने बताए। हाल कोसिसले देशका विभिन्न पालिकाहरूमा मनोरोगका बारेमा सचेतनाका कार्यक्रमहरू गरिरहेको छ।

देवकोटाले आत्महत्याको न्यूनीकरणका लागि सरकारले अध्ययन गरेर बहुपक्षीय कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए।सरकारले अन्य रोगहरूको उपचारमा सहयोग गर्न अस्पतालहरू बनाएर स्वास्थ्य क्षेत्रमा काम गरे जसरी मनोरोगका लागि पनि मानसिक स्वास्थ्य रणनीति बनाएर परामर्शदाता मनोविद्हरू राखेर काम गर्नुपर्ने देवकोटाको भनाइ छ।

पछिल्ला वर्षहरूमा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ। नेपालमा हरेक दिन २० जनाले र विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गरेर आफ्नो अमूल्य जीवन गुमाइरहेका तथ्याङ्क छ।

पछिल्लो १२ वर्षमा नेपालमा ५१ हजार ६११ जनाले आत्महत्या गरेका नेपाल प्रहरीको तथ्याङ्क छ । गएको वर्षमा आत्महत्याका कारण नेपालमा ६ हजार ७९३ जनाले ज्यानले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्