सीपीसी अध्यक्ष नेतृत्वको जम्बो टोली आज नेपाल आउँदै



काठमाडौं । नेपालमा बढ्दो अमेरिकी चासोबारे असन्तुष्टि व्यक्त गर्दै आएको चीनले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का वरिष्ठ नेता ली चानसुको नेपाल भ्रमणलाई प्राथमिकतामा राखेको छ। सीसीपीका प्रभावशाली नेतामध्येका एक ली नेतृत्वको जम्बो टोली आज नेपाल आउँदै छ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीसहित करिब १०० जनाको टोली ४ दिने भ्रमणका लागि काठमाडौं उत्रिँदै छ। भ्रमण टोलीमा सीसीपी विदेश विभाग प्रमुख लिउ ज्यान्चाओ, पार्टीका तर्फबाट मन्त्री र राज्यमन्त्रीस्तरका नेता, चिनियाँ विदेश मन्त्रालयका अधिकारी संलग्न रहने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । कोरोना सङ्क्रमणयता चीनका तर्फबाट तय भएको यो पहिलो उच्चस्तरीय विदेश भ्रमण हो ।

चिनियाँ राष्ट्रपति सी जिपिङका विश्वासपात्र ली सीका अधिकांश विदेश भ्रमणमा संलग्न रहन्छन्। ली राष्ट्रपति सीझैँ चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा छिट्टै फट्को मार्ने नेतामध्येका एक हुन्।

जम्बो टोलीसहित ४ दिनको भ्रमण तय गरेर चीनले नेपाल आफ्नो प्राथमिकतामा रहेको सन्देश दिएको परराष्ट्रका अधिकारीहरूको ठहर छ। ३ वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेयता ली चीनबाट नेपाल आउने दोस्रो उच्च अधिकारी हुन्।

जनकंग्रेस अध्यक्ष ली सीसीपीका तेस्रो वरीयताका नेता हुन्। पार्टीमा उनी राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङपछिको वरीयतामा छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेतृत्वको चिनियाँ अधिकारीको नेपाल भ्रमण तय भएको हो।

लीको नेपाल आगमन २ महिनाको अन्तरमा तय भएको दोस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि गत २६ असारमा सीसीपी विदेश विभाग प्रमुख लिउ ४ दिने नेपाल भ्रमणमा आएका थिए। ली र सभामुख सापकोटाबीच आज सोमबार साँझ द्विपक्षीय भेटवार्ता हुँदै छ ।

यही क्रममा दुवै देशका संसद्बीच सहकार्य सुदृढ गर्नेबारेको समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ। ली नेतृत्वको उच्चअधिकारी संलग्न चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्दै छ।

टोलीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ । उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्दै छन् । राजनीतिक भेटवार्ता संसद् भवनमै हुने बताइएको छ।

नेपाली सेना र अमेरिकी सेनासँग सम्बन्धित भनिएको ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)मा सहभागी नहुने निर्णयको स्वागत गर्दै चीनले नेपालमा उच्चस्तरीय भ्रमणलाई प्राथमिकता दिएको छ। नेपालले अमेरिकी सहायता सम्झौता (एमसीसी) स्वीकार गरेपछि असन्तुष्ट रहेको चीन एसपीपीमा सहभागी नहुने सरकारको निर्णयपछि नेपालप्रति नरम र उदार देखिएको हो।

नेपालमा बढ्दो अमेरिकी सक्रियताबारे चासो लिएको चीनले आफ्नो प्रभाव घट्न नदिन नेपाल लक्षित उच्चस्तरीय भ्रमण बढाउन थालेको विज्ञहरूको ठहर छ । संसद्बाट एमसीसी अनुमोदन भएपछि लामो समय चीन नेपालसँग असन्तुष्ट थियो। अमेरिकाले दबाब दिएर नेपालले एमसीसी अनुमोदन गरेको चीनले बताउने गरेको छ।

एमसीसी अनुमोदन भएपछि नेपालको भित्री धारणा बुझ्न गत चैत दोस्रो साता चीनका विदेशमन्त्री वाङ् यीले नेपालको भ्रमण गरेका थिए। सो भ्रमणमा चीनले नेपालको पूर्वाधार विकास र नाका सहज बनाउने प्रतिबद्धता जनाए पनि नाका नियमित सुचारु हुन सकेका छैनन् । यस भ्रमणमा नेपालले चीनतर्फका नाका सहज बनाउन आग्रह गर्नेछ।

दसैं नजिकिँदै गर्दा उत्तरी नाकाबाट सामान आयात ठप्प छ। चीनले पछिल्लो पटक गत साउनदेखि नेपालतर्फका नाका बन्द गरेको छ। तिब्बतमा कोरोना सङ्क्रमण बढेको जनाउँदै चीनले रसुवागढी नाका २२ साउन र तातोपानी नाका २५ साउनदेखि बन्द गरेको छ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायतका व्यापारिक सङ्घसंस्थाले नाका सुचारु गराउन पटकपटक परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। रुसको भ्रमणमा गएका ली रुस हुँदै सोमबार काठमाडौं आउनेछन्। नेपाल भ्रमणपश्चात् ली नेतृत्वको टोली दक्षिण कोरिया प्रस्थान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्