‘गठबन्धनका नेता फोहोरमा झरिसके, यिनलाई भोट दिनुहुँदैन’



  • जयन्त ठाकुर

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन्। नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले ४ मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताएका हुन्।

‘एमाले कसैको सहारामा चल्ने पार्टी होइन’, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘एमाले एक्लै गठबन्धनबिरुद्ध काफी छ, कसैको सहारा चाहिँदैन।’ लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित नहुने भन्दै एमालेले गठबन्धन नगर्ने उनको भनाइ छ। ओलीले भने, ‘कुनै–कुनै दलसँग तालमेल हुन सक्छ । कुनै–कुनै दललाई तालमेलको नाममा सहारा भने दिन सकिन्छ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एमालेले गठबन्धन गर्न लागेको चर्चाका बीच पूर्वप्रधानमन्त्री ओलीले लोसपातर्फ इङ्गित गर्दै तालमेल हुन सक्ने स्पष्ट गरे। लोकतन्त्रमा कुनै–कुनै दललाई रेस्क्यु पनि गर्न सकिने उनको भनाइ थियो।

५ दलीय गठबन्धनविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका ओलीले एमालेसँग एक्लै भिड्न गाह्रो रहेको बुझेर नै कांग्रेस माओवादीको सहारामा गठबन्धन बनाएर भिडिरहेको बताए। ‘गठबन्धनका नेताहरूलाई ४ मङ्सिरपछिको परिणाम थाहा छ । त्यसैले शेरबहादुरजी र प्रचण्डजीको अनुहारमा अहिले मुस्कान छैन’, उनले भने।

सेटिङवाला राजनीति गर्ने गठबन्धनका नेताहरूलाई नेपाली जनताले अबको निर्वाचनमा विश्वास नगर्ने उनले दाबी गरे। गठबन्धनमा लागेकाहरू फोहोरी राजनीतिमा लागेको भन्दै त्यस्ता फोहोरी राजनीति गर्नेहरूलाई जनताले कदापि जिताएर नपठाउने ओलीको भनाइ थियो।

उनले भने, ‘सुनको सिक्का फोहोरमा झर्‍यो भने त्यो सिक्का फेरि जानकी मन्दिरमा अर्पण गर्न मिल्दैन । गठबन्धनमा लागेका नेताहरू फोहोरमा झरिसकेका छन्, यिनीहरूलाई भोट दिनुहुँदैन।’

नागरिकता विधेयकको प्रसङ्गमा बोल्दै ओलीले नागरिकता समस्या समाधानका लागि अहिले पनि एमाले नै सबैभन्दा बढी गम्भीर रहेको दाबी गरे। तर गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ता एमालेले नागरिकता विधेयक पारित गर्न नदिएको भ्रम सिर्जना गरिरहेको बताए।

उनले भने, ‘आफू २०५१ सालमा गृहमन्त्री हुँदा नागरिकता आयोग बनाएर नागरिकता समस्या समाधान गर्ने प्रयास गरेँ । आफू प्रधानमन्त्री रहँदा समितिका सभापतिले रोकेको रोक्यै गरे । संविधान बमोजिम अध्यादेशबाट कानुन ल्याएँ । तर गठबन्धनकै नेताका कारण त्यो पनि रोकियो ।’

‘तर अहिले विधेयक ल्याएर संसद्मा छलफल नै नगर्ने, राष्ट्रपतिले उठाएका कुराहरू नमान्ने यस्तो हैकमवादी प्रवृति लोकतन्त्रमा चल्दैन’, उनले भने। जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने प्रस्ताव ल्याउन ओलीले आग्रह गरे। उनले भने, ‘जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने प्रस्ताव आए एमालेले सो प्रस्तावलाई ताली बजाएर स्वागत गर्छ।’

नेकपा एमाले मधेस विरोधी पार्टी रहेको प्रचार गर्ने योजना गठबन्धनका नेताहरूको रहेको आरोप लगाउँदै ओलीले एमाले श्रमिक, सुकुम्बासी र भूमिहीन तथा मधेसीहरूकै पार्टी रहेको बताए । उनले भने, ‘नेकपा एमाले मधेसीको पार्टी हो, पहाडिया र हिमालीलगायत आमनेपालीको पार्टी हो।’

जसपाका प्रतिनिधि र प्रदेशसभा सदस्यसहित एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेशसभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाको समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य रहेकी रुही नाज र प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुवै जसपाका केन्द्रीय सदस्य पनि हुन्।

त्यस्तै नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्वराज्यमन्त्री अरबिन्द साह पनि एमाले प्रवेश गरेका छन्। जनकपुरधाममा भएको कार्यक्रममा उनीहरू सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गम्छा लगाएर पार्टीमा स्वागत गरे।

यता एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको मालाले स्वागत गरिएको छ। एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले अध्यक्ष ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरेका हुन् । सोमबार पार्टी प्रवेश गराउन जनकपुरधाम आएका ओलीलाई तिरहुतिया गाछीमा आयोजित कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो ।

कालो झन्डा देखाउन खोज्ने ११ जना पक्राउ

धनुषा प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाम आगमनमा अवरोध गर्न खोजेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई जनकपुरधाम विमानस्थल अगाडिबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए।

ओलीलाई कालो झन्डा देखाउन खोजेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसपी रजौरेले बताए। जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले ती युवाहरू कसैको बहकाउमा आएर आफूलाई कालो झन्डा देखाउन खोजेको भन्दै तत्काल रिहा गरिदिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्