चिनियाँ नेता ली र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु मंगलबार पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन्। चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन्।

आज बिहान ली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ। संघीय संसद सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद भवनमा भेट भएको हो। संघीय संसद भवन नयाँ वानेश्वरस्थित लभि हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको अध्यक्ष तिमल्सिनाको सचिवालयले जानकारी दिएको छ।

यस्तै आज नै संसद भवनमै बिहान १० बजे ली र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ। त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

खानापछि दिउँसो ३ बजे सभामुख ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच करिब ४० मिनेट भेटवार्ता समय निर्धारण गरिएको छ। लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मंगलबार नै भेट गर्ने भएका छन्। बेलुकी अपरान्ह ४ बजेर ५ मिनेटदेखि बालुवाटारमा प्रधानमन्त्री देउवासँग आधा घण्टा वार्ता हुने बताइएको छ।

लीले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए। विमानस्थलमा लीको स्वागतका लागि सभामुख सापकोटा आफैं पुगेका थिए। चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ।

बुधबार दिउँसो साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानेछन्। लीको सुरक्षाका लागि भन्दै काठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्