महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराको बयान सक्ने तयारी



काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ। बैठक बिहान ११ बजे सिंहदरबार बस्ने भएको हो।

समितिले मंगलबारै जबराको बयान सक्ने तयारी गरेको छ। समितिले यसअघि तीनदिन बयान लिइसकेको छ। प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिले राणालाई सोध्न ४३ प्रश्न तयार पारेको थियो।

जबराले आइतबारसम्म ३५ वटा प्रश्नको जवाफ दिइसकेका छन्। बाँकी रहेका ८ प्रश्न र र त्यसको जवाफ मंगलबार सक्ने तयारी समितिले गरेको छ। समितिका एक सदस्यका अनुसार जबरालाई छोटो समयमा सक्नेगरी पूरक प्रश्न पनि सोध्ने र बयान सकाउने तयारी भइरहेको छ।

उनका अनुसार अहिलेसम्म सोधिएका प्रश्नका आधारमा प्रतिवेदन लेखनको काम पनि सँगसँगै चलिरहेको छ। मंगलबारको बैठकपछि जबराको बयान टुंगिनेछ भने बुधबारसम्म समितिले आफ्नो प्रतिवेदन पनि टुंग्याउनेछ।

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् । बिहीबार संसद्लाई प्रतिवेदन बुझाउने र संसदीय प्रक्रियामा लैजाने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्