तातोपानी र रसुवागढी नाका तत्कालै खुल्ने



काठमाडौं । नेपालसँग जोडिएको नाका सञ्चालन गर्न चीन तयार भएको छ। नेपालसँग जोडिएको महत्वपूर्ण नाका तातोपानी र रसुवागढी नाका तत्कालै खुल्ने भएको हो ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन्।

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि नाका खुल्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘यहाँ आउनुअघि मैले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेँ, यो सन्देश हाम्रो राष्ट्रपति सि जिनपिङसमक्ष पनि पुगेपछि अब म राष्ट्रपतिज्यूसँग भन्न सक्छु कि नाकाहरु तत्कालै सञ्चालन हुनेछन्’ चिनियाँ नेता ली को भनाई उधृत गर्दै राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाल र चीनबीचको दुबै नाका सञ्चालन नहुँदा नेपाली व्यापारीहरुले समस्या भोगिरहेका छन् । उनीहरुले यी नाका सञ्चालनको पहल गर्न नेपाल सरकारलाई पटक पटक आग्रह गरेका थिए ।

भेटमा नेता लीले विश्व शान्ति, चीनसँगको मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएको र एक चीन नीतिप्रति प्रतिवद्धता व्यक्त गरेकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए।

उनले राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली महिलाहरुको सहभागितासहितको राजनीतिक प्रणाली बनेको भन्दै यो विषय चीनका लागि पनि सिक्नलायक रहेको बताए ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै नेपालको विकासमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिइन्। उनले सहकार्यपूर्ण सम्बन्ध अझै बलियो बनाउँदै लैजान अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्