टुकुचा खोला खोज्दै बालेन : ‘ललिता निवास’ त दोहोरिँदैन ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्राङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन गरेको छ।महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली बिहीबार डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो।

महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो । स्थानीय बासिन्दा र सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरूले टुकुचा खोला पुरेर घर बनाएको भन्दै टुकुचाको अतिक्रमण हटाउन माग गर्दै आएका थिए।

नापी कार्यालयसँग उक्त खोलाको नक्सा हुनुपर्ने भन्दै महानगरका प्रमुख बालेन्द्र शाहले मङ्गलबार नै महानगरका शहरी विकास विभाग प्रमुख सुरज शाक्यलाई नक्सा खोज्न निर्देशन दिएका थिए । नापी कार्यालयले पनि टुकुचाको अधिकांश क्षेत्रफल नक्सामा भने समेटेको छैन ।

प्रमुख शाहले गत साता मालपोत र नापी कार्यालयलाई पत्रसमेत पठाएका थिए । दुवै निकायबाट पत्र नआएपछि उनी आफैँले नक्सा खोज्न निर्देशन दिएका थिए । महानगरसँग टुकुचाका ३३ वटा कित्ता मात्र छन् । २०२१ सालको नापीमा टुकुचाको नापी भएको थिएन । त्यतिबेलै टुकुचा जमिनमुनि लुकिसकेकाले नापी नभएको जनाइँदै आएको छ।

नक्सामा टुकुचा महाराजगन्जस्थित निर्मल निवास नजिक चुुनदेवी इलाका, कमलादीको उत्तर–पूर्व पुतलीसडक, प्रदर्शनीमार्ग, रामशाहपथ र त्रिपुरेश्वरस्थित सत्यनारायण र महादेव मन्दिरको बीचमा देखिन्छ । तर, अन्त कहाँकहाँबाट टुकुचा बगेको छ, अत्तोपत्तो छैन ।

काठमाडौंको टुकुचा खोला बाँसबारीबाट महाराजगन्ज, टङ्गाल, राजदरबार, जय नेपाल हल, न्यु प्लाजा, पुतलीसडक, थापाथली हुँदै बाग्मतीमा मिसिन्छ । महाराजगन्जस्थित निर्मल निवास नजिक चुुनदेवी इलाकामा टुकुचा खोला देखिन्छ । त्यसपछि नारायणहिटी दरबारसम्म आइपुग्दा खोला धेरै ठाउँमा देखिँदैन । खोलालाई ढलको रूपमा दबाएर माथि सडक बनाइएको छ । कतै व्यक्तिका घर छन् ।

महाराजगन्जदेखि कमलादीसम्म अधिकांश भागमा खोलामाथि सडक र संरचना बनेका छन्। काठमाडौं महानगरपालिकाको तथ्याङ्कअनुसार टुकुचामाथि मात्र ७ दर्जन घर तथा भवन ठड्याइएका छन् । यिनैमध्येको एउटा जयनेपाल हल पनि हो।

कमलादीको उत्तर–पूर्व पुतलीसडक मोडनिर आएपछि टुकुचा देखिन्छ । त्यसपछि एकैचोटि प्रदर्शनीमार्गमा देखिन्छ । त्यहाँबाट कतैकतै मात्र देखिने खोला अधिकांश ठाउँमा देखिँदैन । त्रिपुरेश्वरस्थित सत्यनारायण र महादेव मन्दिरको बीचबाट बग्दै टुकुचा बाग्मतीमा मिसिएको छ।

ललिता निवास काण्ड नसेलाउँदै ‘टुकुचा काण्ड’ जन्मिने त होइन ? भन्ने सङ्केत यस घटनाले दिएको टिप्पणी जनसाधारणबाट हुन थालेको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा जित हात पारेपछि अघिल्ला महानगर प्रमुखभन्दा भिन्न ढङ्गले प्रस्तुत भएका शाहले महानगरलाई व्यवस्थित र सुन्दर बनाउने अभियानसँगै अनियमितता र बेथिति न्यूनीकरणका प्रयास गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्