सिंगापुरमा छन् सन्दीप



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामछानेमाथि १७ वर्षीया बालिका बलात्कारको आरोपसँगै पक्राउ पुर्जी जारी भएपछि त्यतैबाट भाग्न सक्ने अनुमान गरिएको थियो ।

बलात्कार जस्तो जघन्य आरोप लागेका उनी वेस्ट इन्डिजबाटै भाग्ने त होइनन् ? भन्ने जनमानसमा आशङ्का उब्जेका बेला सन्दीप १० दिन बितिसक्दासमेत नेपाल प्रहरी र नेपाल क्रिकेट सङ्घ (क्यान)को सम्पर्कमा नरहेपछि उनी त्यतैबाट भागेका छन्।

२३ भदौमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । पुर्जी जारी गर्नेबित्तिकै प्रहरीले लामिछानेलाई जहाँ भेट्यो त्यही पक्राउ गर्न सकिने बताएको थियो । तर, १० दिन बितिसक्दा पनि उनी कहाँ गए भन्ने चासो व्यक्त भइरहेको छ।

पक्राउ पुर्जी जारी भएकै दिन सन्दीपले आफूमाथि लागेको आरोपको खण्डन गर्दै नेपाल चाँडै फर्कन्छु भनी आफ्नो फेसबुकमार्फत बताएका थिए। फ्लाइट टिकटको प्रक्रिया सकेर जतिसक्दो चाँडो नेपाल आउने उनको भनाइ थियो। उनले आफू निर्दोष भएको र नेपालको कानुनमा पूर्ण विश्वास राखेको प्रतिक्रिया दिएका थिए।

साथै, सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णयसमेत गरेको उनले बताएका थिए। आफूमाथि लागेका सबै आरोपहरूको सामना गर्न तयार भएको बताएका उनी अहिले सम्पर्कविहीन भएपछि प्रहरी उनको पर्खाइमा बसेको छ।

सन्दीपले वेस्ट इन्डिजबाट सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका थिए। वेस्ट इन्डिजबाट काठमाडौं आउन समान्यतया २ दिन मात्र लाग्छ। सन्दीप त्यसको १–२ दिनमै नेपाल आइसक्ने अनुमान गरिएको थियो तर अहिले उनी सम्पर्कविहीन भएपछि उनी अर्कै देश गएको बुझिएको छ।

नेपाल आउने टिकट रद्द गरेर सिंगापुर

सन्दीप हाल सिंगापुरमा रहेको खुलेको छ। जमैकाबाट सिंगापुर पुगेका सन्दीपले त्यहीँ बसेर कानुनी परामर्श गरिरहेको स्रोत बताउँछ। केही दिनमै नेपाल फर्कने बताएका सन्दीप नेपालका कानुन व्यवसायीसँग सल्लाह गरेपछि सिंगापुरतिर लागेको बुझिएको छ।

उनलाई कानुनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएका छन्। सन्दीप निकट स्रोतका अनुसार सन्दीप तत्काल नेपाल नआई मुद्दा लड्न सकिने विकल्पहरू खोजिरहेका छन्। यदि नेपालको अदालतले दोषी ठहर्‍याएर सजाय सुनाएको खण्डमा एकै पटक जेल बस्ने गरी फर्किने सोचमा सन्दीप रहेको स्रोतले बतायो।

सन्दीप केही दिनअघि नै नेपाल आउन लागेका थिए तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्दसमेत गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ। ‘फ्लाइट बुक गरेको त रहेछ। पछि किन हो, रद्द गरे। पछाडिको मितिमा सारेको देखिन्छ’, स्रोतले भन्यो।

सन्दीपमाथि अनुसन्धान गरिरहेको प्रहरी उनको पर्खाइमा छ। सन्दीपले आफैँ नेपाल आउने र कानुनी लडाइँ लड्ने बताएकाले प्रहरीले थप कदम चाल्नु आवश्यक ठानेको छैन। तर, यदि उनी नेपाल आउन ढिलाइ गरेको खण्डमा इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने हुन सक्ने प्रहरी स्रोत बताउँछ।

सन्दीप अन्य देशमा लुकेर बसेका देखिएमा प्रहरीले नेपालमा रहेको इन्टरपोलको शाखामार्फत अदालतको पक्राउ आदेशको आधारमा ‘डिफ्युजन नोटिस’ जारी गराउन प्रक्रिया सुरु गर्नेछ। डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रमध्ये जुन देश भागे पनि उनलाई नियन्त्रणमा लिएर नेपाल फर्काउन सकिनेछ।

सन्दीप घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। ५ भदौमा काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटकपटक बलात्कार गरेको आरोप उनीमाथि छ। ६ भदौ बिहान होटलबाट निस्केका उनी सोही दिन टी– २० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट सीपीएल खेल्न वेस्ट इन्डिज गएका हुन्।

उक्त लिग भइरहँदा यता काठमाडौंको प्रहरी वृत्त गौशालामा २१ भदौमा उनीविरुद्ध बलात्कारको आरोपमा जाहेरी परेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले यस घटनाको अनुसन्धान भइरहेको बताए।

उनले सन्दीप प्रहरीको सम्पर्कमा पनि नरहेको बताए। ‘उनी हाम्रो सम्पर्कमा छैनन्’, एसपी मैनालीले भने। प्रहरीले सन्दीप नेपाल नफर्किएमा औपचारिक/अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताउँदै आएको छ। उनी कहिले र कसरी फर्किन्छन् भन्नेबारे प्रहरीलाई कुनै सूचना छैन।

पक्राउ पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले सन्दीप लामिछानेलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचारसमेत गरेको छ। प्रहरी प्रधान कार्यालयले सबै जिल्ला प्रहरी कार्यालयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सन्दीपको सबै विवरणसहित उनी फेलापरेमा नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा पठाउन निर्देशनसमेत दिएको छ।

यस्तै, सन्दीपलाई जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा समेत राखिएको छ। २६ भदौमा अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेको हो।

प्रतिक्रिया दिनुहोस्