सभामुख र उपसभामुखले प्रदेश नै रुचाए



  • सुमन दाहाल

हेटौँडा । ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बाग्मती प्रदेशका सभामुख र उपसभामुख दुवै जना प्रदेशमै उठ्न इच्छुक देखिएका छन् । आफ्नो ५ वर्षे कार्यकाल सम्पन्न हुँदै गर्दा पुनः प्रदेश तहमै काम गर्न उनीहरू इच्छुक देखिएका हुन् ।

२०७४ सालमा भएको प्रदेशसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को चुनावी तालमेलबाट काठमाडांैको क्षेत्र नम्बर– २ (क)मा विजयी भएका एमालेका सानुकुमार श्रेष्ठ र नुवाकोट क्षेत्र नम्बर–१ को (क)मा विजयी भएकी माओवादीकी राधिका तामाङले पुनः प्रदेश तहमै रहने तयारी गरेका छन् ।

द नेपालटपसँग कुरा गर्दै सभामुख श्रेष्ठले आफू प्रदेश तहमै काम गर्न इच्छुक रहेको बताए । ‘मलाई आफ्नो क्षेत्रका जनताले प्रदेश तहमै काम गरेको देख्न चाहेका छन् । मेरो क्षेत्रमा प्रदेशबाट धेरै नमुना काम भएका छन्। त्यही भएर होला, मलाई प्रदेश तहमै जनताले देख्न चाहेका छन्’, श्रेष्ठले भने, ‘जनस्तरमा प्रदेशको काम प्रभावकारी देखिएको छ।

सङ्घ र प्रदेशले गरेको काम हेर्नुहोस् । कामको हिसाबले प्रदेशप्रति त्यस्तो आलोचना छैन। मलाई पार्टीले जहाँबाट उठाउन चाहान्छ, त्यसका लागि म तयार हुनेछु तर मेरो क्षेत्रका जनताले प्रदेश तहमै देख्न चाहेका छन् ।’

सभामुख श्रेष्ठले सङ्घीयताको पहिलो ५ वर्षे कार्यकालमा प्रदेश सरकारले प्रदेशमा जनताले देख्न सक्ने र महसुस गर्न सक्ने गरी काम गर्न सफल भएको दाबी गरे । उनले प्रदेश तहको पहिलो कार्यकालमा भौतिक विकासदेखि कानुन निर्माणसम्म उल्लेखनीय काम भएको समेत बताए।

यसैगरी उपसभामुख तामाङले पनि पार्टीले चाहे आफू पुनः प्रदेश तहमै रहने तयारी गरेको बताइन्। उनले प्रदेश सरकारले धेरै कामहरू गर्न सक्ने बताउँदै पार्टीले आफूलाई प्रदेश तहकै भूमिकामा दोहो¥याउने विश्वास व्यक्त गरिन् ।

आफूहरू निर्वाचित भएर आउँदा प्रदेशमा कुनै संरचना नरहेको, नितान्त शून्य अवस्थाबाट सुरु गर्नुपरेको स्मरण गर्दै तामाङले सङ्घीयता कार्यान्वयनको सवालमा निकै मिहिनेत गरिएको बताइन्। उनले सङ्घीयताविरोधीहरूले सङ्घीयताबारे अनावश्यक भ्रम छर्ने काम गरेका भन्दै भ्रममा पर्न नहुने बताइन् । उनले देशमा सङ्घीयता लागू भएसँगै विकास निर्माणको कामले तीव्रता पाएको समेत स्पष्ट पारिन् ।

उनले बाग्मती प्रदेशसभाबाट महŒवपूर्ण कानुन निर्माण भएर कार्यान्वयनमा आएको भन्दै सङ्घीयताको समीक्षा गरिहाल्ने समय नभएको स्पष्ट पारिन्। उनले देशमा प्रदेश संरचना सबैभन्दा नयाँ व्यवस्था भएको बताउँदै आफूहरूले सङ्घीय व्यवस्थाको पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको दाबी गरिन् ।

सङ्घीय व्यवस्थाअन्तर्गत निर्माण भएको प्रदेश सरकारले गाउँगाउँसम्म विकासका गतिविधि गरेको भन्दै सङ्घीयताबारे भ्रम छर्ने तत्वबाट गलत व्याख्या भइरहेको उनले आरोप लगाइन् । सङ्घीयता कार्यान्वयनमा कर्मचारीतन्त्रले बेलाबेलामा समस्या ल्याउने तितो यथार्थ रहेको सुनाउँदै उपसभामुख तामाङले राजनीतिक दलहरूले सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ गम्भीर भएर लाग्नुपर्ने बताइन् ।

११० प्रदेशसभा सदस्य रहेकोे बाग्मती प्रदेशमा ५ वर्षमा २५२ वटा (करिब २८८ घन्टा २२ मिनेट बैठक बसिएको छ । उक्त समयमा कानुन निर्माणका लागि आएका मूल विधेयक ५५ वटा र संशोधन विधेयक १५ वटा पारित भएर ७० वटा कानुन प्रमाणीकरण भएका प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्