दसैँमा प्रहरीले बिदा नपाउने, उपत्यकाका कमाण्डरदेखि सिपाहीको दसैँ ड्युटीमै



काठमाडौं । नेपाल प्रहरीको काँधमा अब दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी आएको छ। १६ असोजदेखि दसैँ सुरु हुँदै छ । दसैँ–तिहारमा भिडभाड र आवतजावतका कारण ठगी, कालोबजारी र पाकेटमारी जस्ता घटना बर्सेनि बढ्छन्।

अतिसम्वेदनशील ठाउँ काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)को सुरक्षाको जिम्मेवारी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी (मेट्रो) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र धानुकको कमाण्डमा छ। दसैँको बेला हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौं, भक्तपुर र ललितपुर प्रहरीले आ–आफ्नै ‘सुरक्षा योजना’ लागू गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको समन्वयमा उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू गरिएको एआईजी धानुकले बताए । दसैँको बेला उपत्यकामा कार्यरत प्रहरी–कर्मचारीले बिदा नपाउने भएका छन् ।

चाडपर्वमा हुने अपराध नियन्त्रण गर्नुपर्ने दायित्वले गर्दा प्रहरी कर्मचारीले बिदा नपाउने एआईजी धानुकको भनाइ छ । उनले भने, ‘दसैँ–तिहारका बेला सुरक्षाका लागि उपत्यकामा मात्र करिब १० हजार प्रहरी परिचालित हुन्छन्, त्यसैले बिदा दिने अवस्था छैन ।’

उपत्यकाका परिसर, वृत्त र प्रभाग, चौकी प्रमुखहरूलाई कार्यालयमै ‘उल्लासपूर्वक’ दसैँ मनाउन महानगरीय प्रहरी कार्यालयले निर्देशन दिएको छ। ‘काममा ध्यान दिँदै उल्लासपूर्वक दसैँ मनाउन’ मातहतलाई निर्देशन दिइएको एआईजी धानुकको भनाइ छ ।

काठमाडौंमा ‘कर्डन एण्ड सर्च अपरेसन’

काठमाडौं प्रहरीले कालोबजारी सिर्जना गर्न सक्ने व्यापारिक घरानामाथि निगरानी बढाएको छ। न्युरोड, असन बजार, दरबारमार्ग, बालाजु, कालीमाटी, बौद्ध, चाबहिल, गौशााला, एयरपोर्ट, डिल्लीबजार, कोटेश्वरलगायतका ठाउँमा प्रहरीले निगरानी सुरु गरेको हो।

काठमाडौं जिल्लामा मात्र ३ हजार ७०० जना प्रहरी परिचालन हुनेछन् । चक्रपथ बाहिर र भित्र क्षेत्र छुट्याएर ‘कर्डन एण्ड सर्च अपरेसन’ गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले द नेपालटपलाई जानकारी दिए ।

एसएसपी बोहराले भने, ‘गेष्ट हाउस र होटलमा सर्च अपरेसन चलाउँछौं । लामो दुरीका बस छुट्ने र आउने ठाउँमा सादा पोसाकमा प्रहरी खटाएर निगरानी गर्छौं ।’ त्यस्तै, धेरै भिडभाड हुने बसपार्क र सपिङ मलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर ‘डग स्निफिङ’ गराउने सुरक्षा रणनीति तयारी रहेको बोहराले बताए।

एसएसपी बोहराका अनुसार काठमाडौं प्रहरीले लामो दुरीमा चल्ने सवारी सञ्चालकबाट भएका यात्रु तानातान र ‘टिकट ठगी’मा संलग्नलाई पक्राउ गरिनेछ । ‘चाडपर्व सुरक्षा योजना लागू भइसकेको छ’, एसएसपी बोहरा भन्छन्, ‘काठमाडौंको विभिन्न ठाउँमा चेक प्वाइन्ट राखेर पनि निगरानी गरिरहेका छौँ।’

त्यस्तै, काठमाडौं उपत्यकामा प्रहरीको ‘एम्बुसिङ टिम’समेत खटिनेछन्। नियमित ६६ वटा पिकेट ड्युटीबाहेक दसैँ–तिहार लक्षित थप ३० ठाउँमा पिकेट टिम परिचालन गरिनेछ । काठमाडौं प्रहरीले घर–डेरा छाडेर उपत्यका बाहिर जाँदा डेरामा मूल्यवान् वस्तु नराख्नसमेत अपिल गरेको छ।

सुन, पैसा र मूल्यवान् वस्तु÷सामान डेरामा नछाड्न आग्रह गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले भने, ‘चोरको निशानामा बहुमूल्य सामान पर्ने हुनाले ति सामानलाई बैंक लकरमा राखेर जाँदा चोरी हुने जोखिम हुँदैन।’

ललितपुर प्रहरीको प्राथमिकता : ‘लुटपाट नियन्त्रण र डेराको सुरक्षा’

जिल्ला प्रहरी परिसर ललितपुरले पनि किनमेल हुने ठाउँ र भिडभाडमा लुटपाटका घटना हुने विश्लेषण गर्दै त्यसलाई नियन्त्रण गर्ने सुरक्षा योजना लागू गरेको छ। पर्व मनाउन उपत्यका छाडेर बाहिर जानेको घर, कोठामा चोरी हुने हुनाले ललितपुर प्रहरीले त्यस्तो चोरी रोक्ने विशेष सुरक्षा योजना बनाएको हो।

चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रणमा कुनै कसुर बाँकी नराख्ने ललितपुर परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले बताए। एसपी शाहीले भने, ‘मोबाइल टिम, साइकल गस्ती र सादा पोसाकका प्रहरी चौबीसै घन्टा परिचालन गर्छौं।’

दसैँ, तिहार लक्षित सुरक्षा योजनाअनुसार कन्ट्रोल रुम भेहिकल (सीआरभी), क्वीक रेस्पोन्स टिम (क्यूआरटी) र पिकेट ड्युटी परिचालन गरिएको छ। दसैँ–तिहारको बहानामा जुवा, तास खेल्नेलाई पनि कडा निगरानी गरिने उनले बताए।

लुटपाट नियन्त्रणमा खटिएका प्रहरीले गोली चलाउन सक्नेछन्। ‘मोटरसाइकल गस्ती गर्ने टिमलाई लुटपाट भएमा तत्काल पुग्ने र बल प्रयोग गर्ने आदेश गरिएको छ’, एसपी शाहीले भने, ‘गस्ती टोलीलाई लुटेराको खुट्टामा गोली हान्नेसम्मको आदेश छ।’

आर्थिक गतिविधि हुने ठाउँमा निगरानी

यता, जिल्ला प्रहरी परिसर, भक्तपुरले धेरै आर्थिक कारोबार हुने स्थानमा निगरानी बढाइएको जनाएको छ। चोरी र लुटपाटका घटना हुन सक्ने हुनाले त्यस्ता ठाउँमा सक्रियता बढाइएको भक्तपुर परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) प्रजीत केसीले जानकारी दिए।

‘सपिङ कम्लेक्स र सुन पसललगायत ठूलो परिमाणमा आर्थिक गतिविधि हुने ठाउँमा सचेतना अपनाएका छौँ’, एसपी केसीले भने, ‘दसैँको समयमा आर्थिक अपराध बढ्न सक्ने विश्लेषण गरेर त्यस्ता ठाउँमा निगरानी बढाएका हौँ।’

भक्तपुरमा चाडपर्व सुरक्षामा १ हजारभन्दा धेरै प्रहरी सादा पोसाक र बर्दीमा परिचालन गरिएको छ । प्रहरी परिसर भक्तपुरले समेत विभिन्न ठाउँहरूमा चेक प्वाइन्ट राखेको छ । त्यस्ता चेक प्वाइन्ट नाला, ब्रम्हायणी, जगाती, मनहरा पुल, चाँगु, नगरकोट, सिरुटार र काँक्राबारीमा राखिएको परिसरले जनाएको छ।

चाडपर्व लक्षित पिकेट ड्युटी १२ ठाउँमा, मोबाइल ड्युटी ३ ठाउँमा र ३ वटा स्ट्राइकिङ टोली परिचालन गरिएको छ। १९ वटा क्यूआरटी (क्वीक रेस्पोन्स टिम)ले चौबीसै घन्टा आपराधिक गतिविधिको निगरानी गरिरहन्छ।

‘सेफ्टी पिन अभियानअन्तर्गत महिला हिंसाका घटना र पाकेटमारी नियन्त्रण गर्न टिम परिचालन गरेका छौँ’, एसपी केसीले भने, ‘नाका र व्यापारिक स्थानमा डग स्निफिङ पनि गराउँछौँ। चोरी, लुटपाट र मापसेबाट हुने ग्याङ फाइट नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरेका छौँ।’

उपत्यकाका कमाण्डरदेखि सिपाहीको दसैँ ड्युटीमै

नेपालीहरूको महान् चाड दसैँको अवसरमा सरकारी तथा गैरसरकारीलगायतका अधिकांश कार्यालयका कर्मचारीलाई दसैँ बिदा हुने गर्छ। अझ सरकारी स्कुलमा त १५ दिन अगाडि घटस्थापनादेखि नै सार्वजनिक बिदा दिने चलन छ।

व्यक्तिअनुसार रमाइलो गर्ने तरिका फरकफरक हुन्छ । तर, कतिपय छुट्टी नमाउँदा कार्यक्षेत्रमै दसैँ मनाउन विवश हुन्छन् भने छुट्टी पाउने भने उत्साहित हुँदै आफ्नो थातथलोतिर लाग्छन्। टीका–जमरा लगाई आफूभन्दा ठूलाबडाको आशीर्वाद थापेर पिङ खेल्दै रमाइलो गरी सबै नेपाली नागरिकले दसैँ मनाइरहँदा सुरक्षाकर्मीहरू भने अहोरात्र खटी जनतालाई सुरक्षा दिइरहेका हुन्छन् ।

वर्ष दिनमा आउने महान् चाड दसैँमा आफ्नो सन्तान घर फर्किन्छ भन्ने आस कुन बाबुआमाको नहुँदो हो र ? तर, फौजीका लागि भने यो अवसर विरलै जुर्छ। आफ्नो कर्तव्यको अगाडि उनीहरू नतमस्तक हुन्छन्। परिवारको खुसीभन्दा सर्वसाधारणको सुरक्षा उनीहरूका लागि पहिलो प्राथमिकता बन्छ।

रात–दिन नभनी उनीहरू अहोरात्र ड्युटीमा खटिन्छन् । थोरै त्यस्ता भाग्यमानी फौजी पनि छन्, जसले घर परिवारसँगै दसैँ मनाउने सौभाग्य पाउँछन्। धेरैले त ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दसैँ खल्लो बन्न नदिने प्रयास गर्छन् ।

यसरी हेर्दा नागरिकलाई सुरक्षा दिने सुरक्षाकर्मीको दसैँ खल्लो त देखिन्छ तर पनि उनीहरू सामाजिक सेवामा तल्लीन हुन पाउँदा निकै खुसी छन् । त्यसैले उपत्यकाका प्रहरी कमाण्डरदेखि सिपाहीले ड्युटी गरेरै यस वर्ष पनि दसैँ मनाउनेछन् ।

सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समेत नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।

सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालयले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।

चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रण र यात्रुहरूको सहजताका लागि सुरक्षा योजना लागू गरेको कार्यालय प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीले जानकारी दिइन् । यस्तै, भिडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी गरिने चौधरीले बताइन् ।

मुख्यतः बसपार्क क्षेत्र, कलङ्की, बल्खु, कोटेश्वर, पुरानो बसपार्क र गौशालामा ८ वटा टोली सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन हुने उनको भनाइ छ । सादा पोसाकका ट्राफिक प्रहरीले फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ । त्यस्तै, टिकट मूल्यअनुसार लिएको छ/छैन जाँच पनि गर्नेछ ।

डीआईजी चौधरीका अनुसार टिकट काउन्टरमा टिकट काट्ने व्यक्तिहरू तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्थासमेत गरिएको छ । तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दुरीका सवारीमा २ जना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शङ्का लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन उनले सर्वसाधारणसँग अपिल गरिन् ।

यस्तै, मोटरसाइकल चालकले हेल्मेट प्रयोग नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ओभरलोड, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाइका साथ कारबाही गरिने बताइएको छ। बसपार्कबाट बाहिरिने गाडीहरूलाई अनिवार्य रूपमा यान्त्रिक परीक्षण सुरु गरिएको पनि ट्राफिक कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्