एमालेतिर ढल्क्यो लोसपा



काठमाडौं । गत स्थानीय तह चुनावमा एक्लाएक्लै भिडेका मधेसका २ वटा शक्ति आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन्। यस पटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावपछि तुलनात्मक रूपमा कमजोर देखिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेको सहारा खोजेको छ। गत स्थानीय तह चुनावमा मधेसमा मधेस केन्द्रित ६ वटा दलले प्रतिस्पर्धा गरेका थिए। यस पटक पनि ती दलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

आगामी चुनावमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा सीके राउत नेतृत्वको जनमत पार्टीले समेत अन्य दलसँग गठबन्धन गर्न विभिन्न किसिमबाट प्रयास गरिरहेका छन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि लोसपाले शुक्रबार ६ सदस्यीय वार्ता समिति बताएको छ।
एमालेलगायतका दलसँग चुनावी सहकार्य गर्न पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा समिति बनाइएको हो। समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्र शुुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन्।

सत्ता गठबन्धनसँग तालमेलका लागि गरेको प्रयास असफल भएपछि लोसापाले अन्ततः एमालेसँग सहकार्य गर्न लागेको हो। वार्ता समिति बनाएसँगै एमाले र लोसापाबीच आगामी चुनावमा प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल हुने सम्भावना बढेको छ।

लोसपाका नेताहरूका अनुसार गठबन्धन नभए यस पटक मधेसमा चुनाव जित्न सहज छैन। ‘गठबन्धनबिना चुनाव लड्यौँ भने शीर्ष नेताहरू समेत जोखिममा पर्न सक्ने आँकलन लोसपाका नेताहरूको छ।

त्यसैले जसरी पनि गठबन्धन गर्नै पर्ने लोसपालाई बाध्यता रहेको नेताहरूको बुझाइ छ।यसअघि चुनावी सहकार्यबारे लोसपा अध्यक्ष महन्थ ठाकुर र एमाले अध्यक्ष केपी ओलीबीच पटकपटक सम्वाद भएको थियो।

एमालेविरुद्ध महागठबन्धन बनाउने भन्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पनि ५ दलीय गठबन्धनमा ल्याउने प्रयास गरेका थिए। त्यहीअनुसार ३ चरणमा वार्ता पनि भएको थियो। तर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको दबाबका कारण प्रधानमन्त्री देउवाले लोसपालाई गठबन्धनमा भित्र्याउन अनिच्छुक देखिएका थिए। देउवाको अनिच्छा पछि लोसपाले एमालेसँग निकटता बढाएको हो ।

लोसपामा नेता अनिलकुमार झाले पछिल्लो चरणमा एमालेसँगको छलफल सकारात्मक हुँदै गएपछि वार्ता समिति बनेको बताए। सत्ता गठबन्धनका तर्फबाट चुनावी सहकार्यको प्रस्ताव नआएपछि लोसपाले एमालेसँगको सम्वादलाई सघन बनाएको हो।

नेता झाले भने, ‘एमाले र आफूहरूबीच तालमेल गरेर जाने विषयमा सैद्धान्तिक सहमति छ । सिट बाँडफाँटको विषय दुवै पक्षको समितिमार्फत आपसी समझदारीमा निर्णय गरिनेछ।’ अध्यक्षयद्वय ओली र ठाकुरबीच लगातार वार्तापछि एमालेका दोस्रो तहका नेताहरू पनि सम्वादमा जुटेका थिए।

लोसपासँग तालमेल गर्न एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता गोकुल बाँस्कोटाले पनि लोसपाका नेताहरूसँग वार्ता गरेका थिए। नेता झाले भने, ‘एमालेसँग तालमेलको सम्भावना बढेको छ । अब ५ दलीय गठबन्धनसँग तालमेल हुँदैन।’

एमाले र लोसपाबीच सिट बाँडफाँटसहितका विषयमा अहिले कुनै छलफल भएको छैन। नेता झाका अनुसार वार्ता समितिले सिटसहितको विषयमा छलफल गर्नेछ। मधेसका ८ वटा जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ सिट सङ्ख्या ३२ छ।

स्थानीय चुनावमा मधेसमा कांग्रेस बलियो देखिएपछि मधेस केन्द्रित दलहरू झस्किएका छन्। स्थानीय तहका १३६ सिटमध्ये कांग्रेसले ४६ र एमालेले ३० पालिका जित्दा जसपा र लोसपाले क्रमशः २५ र १४ पालिका मात्र जिते।

२०७४ सालको चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीले १० र सङ्घीय समाजवादी पार्टीले ९ सिट जितेका थिए । स्थानीय चुनावमा राम्रो नतिजा ल्याएको एमाले पनि मधेसमा यस चुनावमा आफ्नो पकड बढाउन चाहन्छ।

जनता प्रगतिशील पार्टीले चुनावमा अन्य दलहरूसँग गठबन्धन गर्न सबै दलहरूलाई पत्राचार गरेको छ। लोसपाका नेताहरूले चुनावी गठबन्धनको विषयमा जनता प्रगतिशील पार्टीसँग मौखिक रूपमा छलफल गरेका थिए। स्थानीय तह निर्वाचनको परिणाम आएलगत्तै जनमत पार्टीका अध्यक्ष राउतले पनि अन्य दलहरूसँग चुनावी गठबन्धन गर्न विभिन्न दलहरूसँग औपचारिक/अनौपचारिक सम्वाद गरेका थिए।

तर, उनको त्यो प्रयासले अहिलेसम्म सार्थकता पाउन सकेको छैन । लोसपाको वार्ता समितिले जनता प्रगतिशील पार्टी र जनमत पार्टीसहितसँग पनि छलफल गर्ने समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्