इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु



एजेन्सी । इरानमा हिजाब विरोधी तीव्र चर्किएको छ। आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकार विरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको छ।

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। महिलाहरुले लगातार ८ औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ।

यो संख्या सरकारले सार्वजनिक गरेको भन्दा तीन गुण बढी हो । यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको जनाएको थियो।

सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ । हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्