मधेसका नेताहरू धमाधम एमालेमा



जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली १० दिनको फरकमा ३ पटक मधेस झरेका छन् । उनको हरेक पटकको मधेस दौडाहाको एउटै उद्देश्य थियो– मधेसी नेताहरूलाई पार्टीमा ल्याउने।

३ पटक मधेसका प्रभावशाली नेताहरूलाई एमालेमा प्रवेश गराउन सफल भए । यस अवधिमा मधेसका १० जना प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन्। सांसदहरूको समयावधि अन्तिम चरणमा रहेका बेला केही दिनको अन्तरालमा ५ सांसद एमालेमा प्रवेश गरेका छन् ।

मधेस प्रदेशबाट प्रतिनिधिसभाका २ र प्रदेशसभाका ३ सांसद आ–आफ्ना माउ पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । नेपाल समाजवादी पार्टी (नेसपा)की प्रतिनिधिसभा सदस्य रुही नाज २७ भदौमा एमालेमा प्रवेश गरिन्। सर्लाहीकी रुही नाज जसपा छाडेर डा. बाबुराम भट्टराई नेतृत्वको नेसपातर्फ लागेकी थिइन्।

यस्तै, जसपाकी प्रदेश सांसद डा. रीना यादव पनि १ असोजमा एमालेमा प्रवेश गरिन्। तत्कालीन राजपाबाट समानुपातिकतर्फ प्रदेश सांसद बनेकी उनले दल विभाजपछि उपेन्द्र यादव नेतृत्वको जसपा रोजेकी थिइन् । उनी जसपा केन्द्रीय सदस्यसमेत थिइन्।

१ भदौमा जसपाको कोटाबाट उनी प्रदेशसभाको विकास समितिको सभापतिमा चयन भएकी थिइन्। समितिको सभापति बनेको १ महिनापछि उनी एमालेमा गएकी हुन्। जसपाकै अर्का सांसद अञ्जुकुमारी यादव पनि २७ भदौमा एमालेमा प्रवेश गरिन् ।

उनी तत्कालीन राजपाबाट निर्वाचित सांसद हुन् । जसपाबाट अलग्गिएर लोसपा गठन गरिँदा उनले जसपा नै रोजिन् । तर, पार्टीको गतिविधिभन्दा अलग थिइन् । एमालेले उनलाई यस पटक समानुपातिक सांसद बनाउन वचन दिएको चर्चा छ।

मधेसका अर्का सांसद प्रह्लाद गिरी पनि एमालेमा प्रवेश गरिसकेका छन्। गिरी तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी पर्सा– ३ (ख)बाट विजयी भएका हुन् । दल विभाजन हुँदा उनले लोसपा रोजेका थिए।

जसपाका केन्द्रीय सदस्य रामउदित राम, शम्भु साह र नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव पनि निर्वाचनको मुखमै एमालेमा प्रवेश गरेका छन्।

लोसपा सचेतक अरगरिया एमालेमा

लोसपाका प्रतिनिधिसभा सदस्य उमाशङ्कर अरगरिया शनिबार एमालेमा प्रवेश गरे। अरगरियासहित अमृता अग्रहरि र अन्य नेताहरू पनि एमाले प्रवेश गरेका छन् ।

२०७४ सालको निर्वाचनमा अरगरिया तत्कालीन सङ्घीय समाजवादी फोरमबाट धनुषा–२ बाट निर्वाचित भएका थिए। पछि जसपाको संसदीय दलका सचेतक बने । जसपा विभाजनका बेला उनले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका थिए।

आगामी चुनावका लागि सोही क्षेत्रबाट लोसपाबाट अरगरियाको एकल नाम सिफारिस गरिएको थियो। उनी ओलीकै पालामा मन्त्रीसमेत बनेका थिए।

आसन्न निर्वाचनका लागि अरू दलसँग तालमेल गर्न लोसपाको वार्ता समिति गठन गरिएको थियो। त्यो वार्ता समितिका संयोजक पनि अरगरिया नै थिए।

प्रतिक्रिया दिनुहोस्