खाद्य संस्थानले आजदेखि खसी-बोका बिक्री गर्दै



काठमाडौं । सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैँका खसी–बोका र च्याङ्ग्रा बिक्री कार्य सुरु गर्ने भएको छ। कम्पनीले खसी–बोकाको मूल्य प्रतिकिलो ६८० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २८० रुपैयाँ निर्धारण गरेको छ।

दसैँको समयमा काठमाडौं उपत्यकामा मासुको खपत धेरै नै हुने हुँदा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले कम्पनीले दसैँमा खसी–बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । यस वर्षको खसी–बोका बजारमा मूल्य नियन्त्रण गर्न कम्पनीले मङ्गलबार मूल्य निर्धारण गरी बुधबारदेखि बिक्री सुरु गर्न लागेको हो।

गत वर्षको भन्दा यस पटकको दसैँमा कम्पनीले प्रतिकिलो ३० रुपैयाँ बढी मूल्य राखेको छ । गत वर्ष कम्पनीले प्रतिकिलो खसी–बोकाको मूल्य ६५० रुपैयाँ निर्धारण गरेको थियो । त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट गरी ६४० रुपैयाँमा खसी–बोका उपभोक्तालाई बिक्री गरेको थियो । यो दसैँमा गत वर्षको भन्दा ढुवानी भाडा र लागत मूल्य वृद्धि भएको हुँदा प्रतिकिलो ३० रुपैयाँ बढाएर ६८० रुपैयाँ निर्धारण गरेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणि खनालले जानकारी दिए । उनले ६८० रुपैयाँ प्रतिकिलोमा १० रुपैयाँ छुट दिएर ६७० रुपैयाँमा उपभोक्तालाई खसी–बोका बिक्री गर्ने बताए ।

कम्पनीले दसैँ लक्षित काठमाडौं ल्याएका खसी–बोका र च्याङ्ग्रा बिहान ९ बजेदेखि बिक्री गर्न सुरु हुने जानकारी दिए। नायव महाप्रबन्धक खनालका अनुसार यस दसैँका लागि कम्पनीले खरिद गर्न ५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट कम्पनीले २ हजार खसी–बोका र १ हजार च्याङ्ग्रा ल्याउने योजना बनाएको थियो। कम्पनीले १ हजार च्याङ्ग्रा ल्याउने भनेको ५०० मात्र ल्याउने भएको छ । ५०० वटामध्ये २०६ वटा च्याङ्ग्रा काठमाडौं आइसकेको छ । बाँकी २९४ वटा च्याङ्ग्रा बाटोमा ल्याइरहेको खनालले जानकारी दिए।

उनले दसैँमा कम्पनीको २ हजार खसी–बोका काठमाडौं ल्याउने योजना भए पनि जम्मा १८ हजार खसी–बोका काठमाडौं आइपुग्ने उनले बताए । गत वर्षको दसैँमा कम्पनीले २ हजार खसी–बोकाका लागि ३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चिनियाँ नाका बन्द हुँदा अघिल्लो दसैँमा कम्पनीले च्याङ्ग्रा ल्याएको थिएन । यस पटक कम्पनीले दार्चुलाबाट ५०० वटा च्याङ्ग्रा ल्याएको छ।

व्यापार कम्पनीले २०७७ सालको दसैँमा १ हजार ५१० वटा खसी–बोका ल्याएको थियो । दसैँमा १ हजार ६०० वटा खसी–बोका र १ हजार ४०० वटा च्याङ्ग्रा बिक्री गर्ने योजना बनाएको भए पनि १ हजार ५१० वटा मात्र खसी–बोका ल्याएर बिक्री गरेको थियो । सो दसैँका लागि ५ करोड ९९ लाख ८४ हजार रुपैयाँ खसी–बोका र च्याङ्ग्रा ल्याउन बजेट छुट्याएको थियो।

१ हजार ६०० वटा खसी–बोका ल्याउने योजना बताइएको थियो भने १ हजार ४०० वटा च्याङ्ग्रा ल्याउने योजना बताइएको थियो । १ हजार ६०० वटा खसी–बोका ल्याउन २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याएको थियो । यसैगरी १ हजार ४०० वटा च्याङ्ग्रा ल्याउन कम्पनीले ३ करोड ३८ लाख ६४ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्