सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ जना घाइते



सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्। शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै उक्त जीप दुर्घटनामा परेका हो।

दुर्घटनामा परि ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दामोदर केसी जानकारी दिए। डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ। जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको डीएसपी केसीले जनाए।

यसअघि गत मंगलबार राति कपुरकोट गाउँपालिकाको मूलपानीनजिकै जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो। दुर्घटनास्थलमा ८ जना र एक जना घाइतेको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्