मध्यपुरथिमिमा आज मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा



काठमाडौं । बडादसैँको एघारौँ दिन पापाङ्कुशा एकादशीको अवसरमा आज मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सुरु हुँदैछ।

तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्दछन्।

तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो।

जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ। विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष सम्लग्नता रहन्छ।

जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोलाई समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ। जात्राका अवसरमा बालकुमारी भुईंफसी (कुभिन्डो) मार हानेर बलि दिइन्छ।

बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ। जात्राको अन्तिममा भुईंफसी (मार हान्ने) भएकाले यसलाई भुईंफसी पालेगु जात्रा पनि भनिन्छ। जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्