काग्रेसमा गच्छदारद्धारा २० हजार कियाशिल सदस्यता दावी



निर्वाचनअघि कांग्रेसमा पार्टी विलय गराएका तत्कालीन फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले कांग्रेसभित्र आफू समर्थक २० हजारलाई सदस्यता दिनुपर्ने माग गरेका छन् । तराई–मधेस र केही पहाडका गरी ४१ जिल्लामा २० हजार क्रियाशील सदस्यता मागिएको गच्छदार नेतृत्वका तत्कालीन फोरमका महासचिव योगेन्द्र चौधरीले बताए । ‘हामीले जिल्लागत रूपमा त्यसको सूची नै पार्टी कार्यालयलाई दिइसकेका छौं’, उनले भने ।

गच्छदारले गृह जिल्ला र निर्वाचन क्षेत्र सुनसरीबाट करिब ६ हजार क्रियाशील सदस्यता दाबी गरेका छन् । मोरङबाट समेत त्यही हाराहारीमा उनले क्रियाशील सदस्यता दाबी गरेको नेता चौधरीले बताए ।

कांग्रेसमा साधारण र क्रियाशील गरी दुई प्रकारका पार्टी सदस्य हुने व्यवस्था छ । देशभरि ५ लाख क्रियाशील सदस्य रहेको कांग्रेसको आधिकारिक वेबसाइटमा उल्लेख छ । क्रियाशील सदस्यले प्रत्येक गाउँ र नगर कार्यसमितिका पदाधिकारीसहित क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । क्षेत्रीय प्रतिनिधि नै जिल्ला र क्षेत्र अधिवेशनका मतदाता हुन्छन् । उनीहरूले महाधिवेशन प्रतिनिधि चयन गर्छन्।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावको पूर्वसन्ध्यामा २०७४ असोज ३० मा गच्छदार आफ्ना नेता कार्यकर्तासहित कांग्रेसमा फर्केका थिए । त्यसयता उनको पूर्वपार्टीका केन्द्रीय नेताको समेत कांग्रेसमा पदको टुंगो नलागिरहेका बेला उनले २० हजार क्रियाशील सदस्यता माग गरेका हुन् । पूर्वपार्टीको केन्द्रदेखि गाउँसम्मका कमिटी कांग्रेसमा समायोजन गर्ने सहमति गरी उनी कांग्रेसमा विलय भएका थिए । एक दशकअघि कांग्रेस त्यागेर उनी मधेसकेन्द्रित राजनीतिमा होमिएका थिए ।

मस्यौदा समिति सदस्यसमेत रहेका कांग्रेस नेता प्रदीप पौडेलले क्रियाशील सदस्यमा गच्छदारको दाबी अस्वाभाविक देखिएकाले छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘सुनसरीसहित तराईका केही जिल्लामा उहाँले भनेअनुसार ठीकै छ तर पहाडी जिल्लामा समेत उहाँले गरेको दाबीप्रति पार्टीले सोच्नुपर्ने हुन्छ ।’ गच्छदारले काभ्रे, तनहँ, कास्कीसहित केही पहाडी जिल्लामा पनि क्रियाशील सदस्यता दाबी गरेका छन् ।

कांग्रेसका क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छान्ने र त्यसले महाधिवेशन प्रभावित हुने भएकाले शीर्ष नेताहरूले गच्छदारको दाबीप्रति चासो देखाएका छन् । गच्छदारनिकट नेताहरू पार्टी सभापति शेरबहादुर देउवासँग छलफल र सहमतिमा नै उनले यो दाबी गरेको बताउँछन् भने देउवाइतर नेताहरू त्यसप्रति संशकित भएका छन् । कांग्रेसको विधान संशोधन गर्न गठित मस्यौदा समितिले पार्टीको आन्तरिक संरचना व्यवस्थापन गर्न छुट्टै उपसमिति गठन गरेको छ । उपसमितिले क्रियाशील सदस्यतादेखि पार्टीको अन्य व्यवस्थापनका विधि तय गर्नेछ ।

गच्छदार पक्ष मंसिरमा हुने महासमिति भेलापछि आफू पक्षधर नेता कार्यकर्ताको व्यवस्थापन हुनेमा आशावादी छ । कांग्रेस नेतृत्वले पार्टीको विधानका कारण सहमतिअनुरूप व्यवस्थापन गर्न नसकेको गच्छदारसँग बताउँदै आएको छ । पछिल्लो समय गच्छदारले आफ्ना नेता कार्यकर्ताको व्यवस्थापन नभएको असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन् । कांग्रेसमा विलय हुँदा नेतृत्वले उनलाई पार्टीको उपसभापति दिने र उनको पूर्व पार्टीका १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउने आश्वासन दिएको थियो । संघीय निर्वाचनपछि संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा चुनिएपछि गच्छदारलाई दलको उपनेतामा मनोनित गरेका थिए ।

छानबिन गर्न माग

नेपाल महिला संघले विधान मस्यौदा समितिलाई सुझाव दिँदै पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा जिल्ला तहसम्मै छानबिन गर्न माग गरेको छ । संघले विशिष्ट क्रियाशील सदस्यको अवधारणा ल्याउन समेत सुझाएको छ । संघले विशिष्ट क्रियाशील सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्था लागू गर्न सुझाव दिएको छ ।

डेढ लाख क्रियाशील सदस्य थपिने

१३ औं महाधिवेशनमा टुंगो नलागेका डेढ लाख क्रियाशील सदस्य पनि १४ औं महाधिवेशनमा मतदाता बन्न भएका छन् । क्रियाशील सदस्यताबारे त्यसबेला शीर्ष नेताहरूबीच विवाद हुँदा पार्टीले छानबिन समिति गठन गरेको थियो । समितिको सिफारिसका आधारमा उनीहरू आगामी महाधिवेशनमा क्रियाशील सदस्य बन्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्