प्रचारमा कलाकार, टिकटमा ठेकेदार



काठमाडौं  । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको वर्तमान गठबन्धन सरकार आगामी ४ मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सक्रिय भएर लागिरहेको छ । गठबन्धनले प्रत्यक्षका लागि टिकट तथा समानुपातिकका लागि उम्मेदवारको सिफारिस गरेपछि सिफारिसमा परेका र टिकट पाएका उम्मेदवारहरू चुनावी तयारीमा व्यस्त छन् ।

तर, दुःखको कुरा, पार्टीको सांस्कृतिक विभागअन्तर्गतको भ्रातृ सङ्गठन नेपाल सांस्कृतिक सङ्घका सभापति तीर्थ थापा भने देउवासँग रुष्ट छन् । रुष्ट हुने कारण हो– चुनावका लागि सिफारिस गरिएका सङ्घका सदस्यलाई उम्मेदवार नबनाइनु । ‘पार्टीले यति ठूलो अपमान गर्‍यो कि हामीलाई कुनै पनि ठाउँ दिएन।

हिजो महाधिवेशनमा पनि ठाउँ दिन्छ कि भनेर आशा राखेका थियौँ तर न शेखर कोइरालाले आफ्नो टिममा राखे, न त देउवाले नै । मङ्सिरमा हुने निर्वाचनमा पनि यस्तै हविगत दोहोरियो’, अध्यक्ष थापाले आक्रोश पोखे, ‘महाधिवेशनमा हामीलाई झुक्याए। सभापतिजी समानुपातिक र समावेशीको सिद्धान्तलाई विश्वास गर्ने मान्छे भएकाले पार्टीले आगामी निर्वाचनमा कम्तीमा न कहीँ स्थान दिन्छ भन्ने आशा थियो । शेरबहादुरजी प्रजातान्त्रिक कांग्रेसमा हुँदा पनि समानुपातिक हिसाबले विचार बनाउनुभएको थियो तर उहाँले बिर्सनुभयो । योभन्दा दुःखको कुरा अरू के होला ?’

अध्यक्ष थापाका अनुसार प्रधानमन्त्री देउवाकै स्वकीय सचिवले ४–५ जना कलाकारको नाम पठाउन भनेका थिए । सोहीअनुसार जिल्लाबाट सिफारिस भई आएका र सङ्घबाट पनि सिफारिस भएका कलाकारको नाम पठाइएको थियो । ‘उहाँहरूले हाम्रो अपमान गर्नुभयो ।

कलाकारलाई उम्मेदवार नबनाउने उहाँहरूको योजना सफल भयो । तर, हामी हाम्रो सङ्घर्ष कायमै राख्छौँ । पार्टी भन्दा पनि दूरदर्शी नेता नभइञ्जेलसम्म पार्टी अगाडि बढ्न सक्दैन भन्ने प्रष्ट भएको छ । हामी कलाकारले त उहाँहरूलाई नेता बनाइदिने मात्र काम गरेका रहेछौँ’, उनले भने ।

थापाको बुझाइमा संस्कृतिको मामलामा दिवङ्गत कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अग्रगामी सोचका थिए । थापालाई पार्टीका युवा पुस्ताबाट पनि संस्कृतिको पक्षमा पार्टीले केही गर्छ भन्ने आशा छैन । ‘चाहे गगन थापा, विश्वप्रकाश शर्मा वा धनराज गुरुङ, उहाँहरूले संस्कृति बुझे पनि यसप्रति चासो देखाउनुभएन ।

वहाँहरूले चाहिँ कम्तीमा संस्कृतिलाई सम्झन्छन् भन्ने लागेको थियो । तर, संस्कृतिलाई समावेश गरेपछि आफ्नो राजनीति सकिन्छ भन्ने उहाँहरूमा भ्रम रहेछ । उहाँहरूले ढाँटेर राजनीति गर्नुभएको छ। जनतालाई ठगिरहनुभएको छ’, थापा गुनासिए, ‘प्रजातन्त्रमा सबै पक्षको कुरा समावेश हुनुपर्छ । संविधानले समावेशी, समानुपातिकलाई महत्व दिएको छ तर सांस्कृतिक क्षेत्र जहिल्यै निल बनाइयो। त्यहाँ कहिल्यै पनि ठाउँ नै दिएनन् । मेरो बुझाइमा जुन नेतासँग दूरदर्शी सोच र योजना हुँदैन, त्यो भनेको जनतालाई भ्रममा पारेर कुर्सीमा पुग्नु मात्र हो ।’

चुनावसँग जोडिने भनेको आर्थिक पक्ष प्रमुख हो । निर्वाचन आयोगले पनि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि खर्च गर्नुपर्ने दायरा तोकेको छ । चुनावी प्रचारप्रसारको सामग्रीका लागि गच्छेअनुसार खर्च गर्न सक्ने कलाकार मङ्सिरमा हुने निर्वाचनका लागि भने खर्चको अनुपात हेरेरै उम्मेदवार बन्नबाट पछि हटेका छन् । नेकपा (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष चेतन सापकोटा यो कुरा स्वीकार्छन् ।

‘म, नवल खड्का, उदय सुब्बा र युवराज लामालाई पार्टी अध्यक्ष प्रचण्डले बोलाएर हाम्रो कुरा बुझ्न खोज्नुभयो । हामीले उहाँलाई चुनाव महँगो र खर्चिलो हुने भएकाले चुनावमा उम्मेदवार हुन नसक्ने प्रष्ट कुरा राख्यौँ’, उपाध्यक्ष सापकोटाले खुलाए, ‘हामीले उहाँलाई ५–६ करोड रुपैयाँ खर्च गरेर चुनावमा लड्न सक्दैनौँ । चुनावमा परिचालनसँगै सांस्कृतिक फाँटबाट प्रचारप्रसारको काममा खर्च लागे पनि उम्मेदवारका रूपमा खर्च गर्न आफूहरू असमर्थ रहेको धारणा राख्यौँ । उहाँ हाम्रो कुरामा सहमत हुनुभयो ।’

उनले आफूहरूलाई पार्टीले उम्मेदवार बनाउन कञ्जुस्याइँ नगरे पनि आर्थिक पाटोले गर्दा आफूहरू नै अगाडि नसरेको बताए । ‘हाम्रो नाम समानुपातिकमा पनि गएको थियो । पार्टी, सरकार र संविधानमा समेत दलित, महिला, आदिवासी, जनजाति, मधेसी, अपाङ्ग र शहीद परिवारलाई समानुपातिकमा समावेश गर्ने भन्ने नीति नै छ । तर, हामी यी क्षेत्रमा परेका छैनौँ र हामी पर्नुपर्छ भन्ने दाबी पनि गर्दैनौँ’, उनले भने ।

नेकपा एमाले समर्थित जनसङ्गीत कलाकार सङ्घका अध्यक्ष बैकुण्ठ महतको बुझाइ थापा र सापकोटाको भन्दा केही फरक छ । थापाले पार्टीले झुक्याएको बताएका र सापकोटाले आर्थिक कारण देखाए पनि महत भने एमाले भने केही लचिलो रहेको दाबी गर्छन् ।

उनी गीत–सङ्गीत र वैचारिक तथा साङ्गठनिक राजनीति फरक पाटो भए पनि सङ्गठनात्मक सिद्धान्त अवलम्बन गरेर बढ्दा पार्टीमा भाग नपाउने भन्ने नहुने तर्क राख्छन् । ‘हाम्रो जनसांस्कृतिक महासङ्घको संस्थापक अध्यक्ष नै मोदनाथ प्रश्रित, रघुजी पन्त, प्रदीप ज्ञवाली मन्त्री भइसक्नुभएको छ। खगेन्द्र राई, मधु गुरुङ, सानु पहाडी, सिन्धु बलेसा प्रतिनिधिसभा र संविधानसभामा सदस्य भइसक्नुभएको छ । त्यस कारण पार्टीले प्लेटफर्म नदिएको भन्ने होइन’, महत भन्छन्, ‘पार्टीले र जनताले कामसँगै परिपक्वताको मूल्याङ्कन गरेको हुन्छ । म दाबीका साथ भन्छु कि एमालेले कला, सङ्गीत, साहित्य पक्षबाट आएका धेरै मान्छेलाई उचित प्लेटफर्म दिएको छ ।’

उनले कलाकारका रूपमा चेतनाको आवाज भर्न सके पनि परिवर्तन गर्न भने सम्भव नहुने दाबी गरे । ‘हामी माहोल बनाउन सक्छौँ तर अभियन्ता बनाउन सक्दैनौँ । अभियन्ता बन्न राजनीतिको मूलधारमा आउनै पर्छ । त्यो ठाउँमा जानुपर्छ र त्यो किसिमको जनसम्पर्क विस्तार पनि गर्नुपर्छ’, उनले भने । महतका अनुसार यस पटक सङ्घले समानुपातिकमा भूमिका सुब्बा, खगेन्द्र राई र प्रेमनाथ अधिकारीलाई सिफारिस गरेको थियो तर प्रदेश १ बाट खस आर्यमा प्रेम परेका छन् ।

हरेक पार्टीलाई चुनाव होस् या अन्य गतिविधिमा प्रचारप्रसारसँगै आफूप्रति जनताको ध्यान तान्ने गतिलो माध्यम कलाकार बनेका छन् । त्यसैअनुसार भ्रातृ सङ्गठनमार्फत दलका नेताले आफ्ना अभियानलाई जनतामाझ पुर्‍याइरहेका छन् । तर, कलाकारको गीत होस् या नृत्यमा रमाउने पार्टीका नेता कलाकारलाई चुनावी टिकट दिन होस् या समानुपातिकमा समावेश गर्न भने हिच्किचाउने गरेका कांग्रेस निकट एक कलाकार गुनासो गर्छन् । उनी भन्छन्, ‘कलाकार चहिने त चुनावमा न हो, टिकट दिने बेला त नेतालाई ठेकेदार नै चाहिनेरहेछ ।’

प्रतिक्रिया दिनुहोस्