साल्ट ट्रेडिङको तेल बजार मूल्यभन्दा २० रुपैयाँ सस्तो



काठमाडौं । साल्ट ट्रेडिङ कपोर्रेसनले प्रचलित बजार मूल्यभन्दा प्रतिलिटर २० रूपैयाँ सस्तोमा तोरीको तेल बजारमा ल्याएको छ। नेपाल खुद्रा व्यापार सङ्घले गत ७ कात्तिकमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार काँचो तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपैयाँ छ ।

साल्ट ट्रेडिङले सो मूल्यभन्दा २० रुपैयाँ सस्तो प्रतिलिटर ३५० रुपैयाँमा सर्वसाधारणले पाउने गरी तेल बजारमा ल्याएको छ। यस्तै, भुटेको तोरीको तेलको भन्दा साल्ट ट्रेडिङको शुद्ध तोरीको तेल लिटरमा १५० रुपैयाँ सस्तो छ।

हाल बजारमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ४०० रुपैयाँ छ। हेटौँडास्थित बन्द भएको नेपाल वनस्पति उद्योग सञ्चालन गरी साल्ट टे«डिङले शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा सर्वसाधारणको मागअनुसार बजार मूल्यभन्दा सस्तोमा तोरीको तेल ल्याएको हो ।

कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले पहिलो चरणमा ३०० लिटर तेल बजारमा ल्याएको बताए। तेल १ लिटरको बोतलमा सिल गरी बजारमा पठाइएको उनले बताए। सरकारले निर्धारण गरेका नियम र मापदण्डहरू पूर्ण पालना गरी तेल बजारमा पठाएको उनको भनाइ छ ।

बजारमा आइरहेको तोरीको तेलको गुणस्तरमा शङ्का गरी साल्टलाई शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याउनू भन्दै सर्वसाधारणबाट माग आएपछि कर्पोरेसनले शुद्ध तोरीको तेल बजारमा ल्याएको प्रबन्धक झाले बताए।

सोही मागलाई मध्यनजर गर्दै सर्वसाधारणबाट गुनासो नआउने गरी गुणस्तरीय तोरीको तेल ल्याएको उनको दाबी छ। तिहारलगतै कपोर्रेसनको तेल बजारमा पठाएको प्रबन्धक झाले जानकारी दिए।झाका अनुसार साल्ट ट्रेडिङले ल्याएको तेलमा कुनै केमिकल मिसाइएको छैन ।

शुद्ध परम्परागत रूपमा तोरी मिलबाट तोरी पेली तेललाई ३ पटक फिल्टर गरेको छ। पहिलो चरणको तेल साल्ट ट्रेडिङको आफ्नै बिक्री काउन्टरबाट मात्र बिक्री गर्न थालेको झाले जानकारी दिए । उनले अब दोस्रो चरणमा तेल अन्य बिक्रेतालाई केही सहुलित दिएर बिक्रीका लागि बजारमा पठाइने बताए।

कपोर्रेसनले काठमाडौं बजारलाई नै केन्द्रित गरी पहिलो पटक शुद्ध तोरीको तेल बजारमा ल्याएको प्रबन्धक झाको भनाइ छ। तेल उत्पादन गर्ने कच्चा तोरी स्थानीय किसानबाट नै सङ्कलन गरेको उनले बताए । बजारमा माग बढेपछि स्थानीय कच्चा तोरी अभाव भएको खण्डमा मात्र बाहिरबाट आयात गरिने झाको भनाइ छ।

‘साल्ट ट्रेडिङ कपोर्रेसनको ब्रान्डमा शुद्ध तोरीको तेल उपभोक्ताले पाउनेछन्’, प्रबन्धक झाले भने, ‘बजारमा आउने तोरीको तेलको गुणस्तरमा विश्वास नहुँदा उपभोक्ताको मागअनुसार नै साल्ट ट्रेडिङले बजारमा शुद्ध तोरीको तेल ल्याएको हो । उपभोक्ताबाट कुनै गुनासो नहुनेगरी उच्च गुणस्तरीय छ ।’

साल्ट ट्रेडिङले दैनिक उपभोग्य वस्तु आपूर्ति गर्नुका साथै मैदा सुजी, गहुँको बिउ उत्पादन गर्दै आएको थियो। अब तोरीको तेलसमेत बजारमा ल्याएको छ। कर्पोरेसनले अहिले आयोडिनयुक्त नुन, एसटीसी ब्रान्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङ गरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ।

पछिल्लो ५ वर्षयता कर्पोरेसनको कारोबार निरन्तर बढिरहेको छ । कर्पोरेसनले गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्