समयमै विद्यालयको सामाजिक परीक्षण गर्ने न्यून



कैलाली । कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन्। हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले समयमै गर्ने गरेका छन्।

शिक्षा नियमावलीअनुसार भदौ मसान्तसम्म विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सरोकारवाला सामु सार्वजनिक गर्नुपर्ने हो । केही विद्यालयले पहिले गरे पनि अधिकांश विद्यालय भनेआज भोलि गरिरहेका छन्। दसैँ तिहार विदाका कारण केही ढिलो हुन गएको शिक्षा शाखाले जनाएको छ । गतकात्तिक मसान्तसम्म पनि सार्वजनिक सुनुवाइको प्रतिवेदन पेश नगरे सेवा सुविधा कटौती हुने प्रावधान रहेको छ।

यस वर्ष हालसम्म टीकापुर नगरपालिकाअन्तर्गतका ३३ वटा सामुदायिक विद्यालयमध्ये तीन वटा विद्यालयले मात्र सामाजिक परीक्षण गरेका छन् । तीस वटा विद्यालयले अझै सामाजिक परीक्षण कार्यक्रम नगरेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिए। जोशीपुर गाउँपालिकामा अधिकांश विद्यालयले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिसकेका पालिकाको भनाइ छ।

गाउँपालिकामा २३ सामुदायिक विद्यालय रहेकामा करिब ७० प्रतिशत विद्यालयले सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिसकेको र बाँकी विद्यालय पनि तयारी अवस्थामा रहेको जोशीपुर गाउपालिका शिक्षा शाखा अधिकृत सङ्ग्रामसिंह धामीले जानकारी दिए। यस्तै कैलालीको लम्कीचुहा नगरपालिकामा ४६ सामुदायिक विद्यालयमध्ये जम्मा १६ वटा विद्यालयले मात्रसामाजिक परीक्षण सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेका छन् ।

कैलाली जिल्लामा जम्मा पाँच सय ६५ विद्यालय छन् । जिल्लामा रहेका यी सामुदायिक विद्यालयले मापदण्डअनुसार सामाजिक परीक्षण गर्नुपर्छ । अधिकांश विद्यालयले सामान्यरुपमा सामाजिक परीक्षण गर्छन् । परीक्षण गर्नुपर्ने वाध्यताले गर्ने गरेका अभिभावकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्