दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस



ताप्लेजुङ । ताप्लेजुङको दुर्गम क्षेत्रका ४ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ। यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए।

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका–६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ। फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सा आधारभूत विद्यालय मतदान केन्द्रमा १६९ र ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

ओलाङचुङगोलास्थित वडा कार्यालय मतदान केन्द्रमा २८४ र याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६१ मतदाता छन्। गत प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सो क्षेत्रका मतपेटिका हेलिकप्टरबाट फुङलिङ ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्