टीम बिनाका राजेश-करिष्मा, टीम नफेरेका दीपक-बेनिसा



काठमाडौं अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर दर्शक र फिल्म वृत्तमा रुचाइएका जोडी हुन् । दर्जनौँ फिल्ममा अनस्क्रिन रोमान्स गरेको यो जोडी अहिले पनि युवा पुस्ताका कलाकारको ‘आइडल’ जोडी हो ।

पछिल्ला वर्षमा फिल्मी अभिनयबाट केही टाढिएका उनीहरू आफ्नो क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि उत्तिकै चासो राख्छन् । त्यसमा खेलकुद छुट्दैन । फुटबलको महासङ्ग्राम विश्व कप फुटबल आगामी आइतबार अर्थात् ४ मङ्सिरको राति कतारमा सुरु हुँदै छ । चुनावीसँगै सामाजिक सञ्जाल होस् या चिया गफमा फुटबल कसले जित्ला भन्ने चासो उत्तिकै छ । आममानिसझैँ कलाकार पनि आफ्नो मनपर्ने टिमले विश्व कप उचालेको हेर्न चाहिरहेका छन् ।

तर, राजेश र करिश्मा यस मामलामा अन्यभन्दा फरक छन् । उनीहरूको मनपर्ने फुटबल टिम नै छैन । नकआउट चरणपछि मात्र उनीहरू फुटबल टिम छनोट गर्छन् । कारण हो- टिमको खेल शैली र रणनीति । अभिनेता राजेशले अहिलेसम्म जति संस्करणको विश्व कप हेरेका छन्, ती सबै विश्व कपमा फुटबल सुरु हुनुअघि र भएपछिको समर्थन टिम छैन ।

‘सेमिफाइनलमा जुन टिम पुग्छन्, त्यसपछि मात्र मेरो समर्थन रहन्छ । नेपालले विश्व कप खेलेको भए सुरुदेखि नै समर्थन हुन्थ्यो तर नेपालले विश्व कप खेलेको छैन’, हमाल भन्छन्, ‘त्यस कारण जुनजुन टिम सेमिफाइनल पुग्छन्, त्यसपछि म टिमको समर्थन गर्छु किनकि त्यसमा टिमले चुनौतीको सामना गर्नुपर्ने हुन्छ । टिमले प्रतियोगिता जित्ने सम्भावना कम छ या बढी छ भनेर मूल्याङ्कन गरेपछि मात्र निर्णय लिन्छु ।’

राजेश र करिश्माको फुटबल हेर्ने शैली उस्तै छ । करिश्मा फुटबलभन्दा क्रिकेटमा बढी चासो दिन्छिन् । ‘मैले अहिलेसम्म सुरुदेखि विश्व कप फुटबल हेरेकी छैन । क्वार्टर फाइनल चरणमा पुगेपछि मात्र फुटबल हेर्छु किनकि त्यसपछिका प्रतिस्पर्धा रोचक हुन्छन्’, करिश्माले प्रष्ट्याइन्, ‘मेरो यो विशेष टिम भन्ने छैन तर जुन टिमले राम्रो खेल्छ, त्यही टिमलाई मेरो समर्थन रहन्छ । क्वार्टर फाइनल राउन्ड पुगेपछि त्यसबेलासम्म कुन टिम, कुन खेलाडी भन्ने चर्चा भइसकेको हुन्छ । त्यतिबेला मात्र फुटबल हेर्ने हो ।’

क्रिकेटचाहिँ करिश्मा बसेर आनन्दपूर्वक हेर्छिन् । पाकिस्तानी पूर्वक्रिकेटर इमरान खान क्रिजमा चम्किएको समयदेखि नै क्रिकेट हेरेकी उनलाई क्रिकेटप्रति विशेष मोह छ ।
‘इमरान खानको बेलादेखि क्रिकेट हेर्न थालेकी हुँ । त्यस समयमा भर्खर टेलिभिजन आएको हुनाले कतै क्रिकेट आएको थियो भने हेरिहाल्थेँ’, करिश्माले खुलाइन्, ‘म तालिमका लागि १ वर्ष मुम्बई बसेकी थिएँ । त्यस समयमा क्रिकेट अत्यधिक हेरेँ किनकी भारतमा क्रिकेटको जुन प्रकारको क्रेज छ, त्यो अन्त कतै पाइनँ । क्रिकेटमा विकेट गन्ने, यति बलिङमा यति रन बाँकी छ भनेर गन्न स्वादिलो लाग्छ ।’

राजेश र करिश्माको जस्तो नकआउट चरणपछि फुटबल हेर्ने समय अन्य कलाकारमा छैन अर्थात् उनीहरूको समर्थक टिम छ, जुन टिमको फुटबल टेलिभिजनमा आएपछि हेर्न छुटाउँदैनन् । कलाकार दीपकराज गिरीले सन् १९९० देखि विश्व कप फुटबल हेर्न थालेका हुन् । पहिलो पटक विश्व कप हेर्न थालेदेखि नै अर्जेन्टिनाका समर्थक दीपकले सन् २०२२ सम्म आइपुग्दा अर्जेन्टिनालाई नै प्रिय मानिरहेका छन् ।

‘नेपालीको छोरो हो, दायाँबायाँ लाग्दैन, राजनीतिक पार्टी जस्तै हो फुटबल पनि । ३२ वर्षदेखि अर्जेन्टिनाको समर्थक छु, अन्त कतै जान मन नै लागेन’, दीपकको तर्क छ, ‘समर्थनको कुरा मानिसको मनोवृत्ति पनि हुन सक्छ । मैले छानेको चिज यही नै हो, यसमा परिवर्तन हुनुहुँदैन भन्ने जडतावादी सोच आममानिसमा हुन्छ । अर्जेन्टिनाको हकमा मेरो यही सोच हो।’

अर्जेन्टिनापछि दीपकको मनपर्ने टिम इटाली हो तर यस पटक इटाली छनोट चरणबाट नै बाहिरिसकेको छ । फुटबल हेर्ने दीपकको आफ्नै शैली छ । ‘आफ्नो टिम र एसियाली टिम जापानको फुटबल आउँदा हेर्छु तर ध्यान दिएर हेर्नचाहिँ नकआउट चरणबाट मात्र सुरु हुन्छ’, उनी भन्छन् । कुनै समयमा दीपक उनकै भनाइमा ‘रात माया मारेर’ हरेक खेल हेर्थे । अहिले उनमा यो बानी छैन । ‘पहिला मानिसहरूले नचिन्दा जहाँ बसेर पनि हेरिन्थ्यो । अबचाहिँ कतै सार्वजनिक ठाउँमा हेर्न गयो भने विवाद होला अथवा कसैले कुट्ला भन्ने डरले घरमै हेर्छु’, उनी भन्छन् ।

अभिनेत्रीद्वय बेनिशा हमाल र रिमा विश्वकर्मा ब्राजिलका ‘खाँट्टी’ समर्थक हुन् । सन् २००२ देखि विश्व कप हेर्न थालेका बेनिशा र रिमाले त्यस वर्षको विश्व कप ब्राजिलले जितेपछि आजीवन उनीहरूलाई ब्राजिल नै प्रिय बन्यो । ‘त्यतिबेलादेखि नै रोनाल्डो, रोबर्टो कार्लोस, रिकार्डो काकालगायतका खेलाडीलाई टेलिभिजनमा चिने । ‘त्यहाँदेखि ब्राजिलसँग मेरो विशेष लगाव छ । आफूले हेरेकै साल ब्राजिलले नै विश्व कप जितेकाले पनि म ब्राजिलको समर्थन गर्दै आाएकी छु’, बेनिशा भन्छिन् ।

बेनिशा आफ्नो टिमसँगै अरू टिमको खेल पनि हेर्छिन् । ‘गेम हेर्दै गएपछि कुन टिमले राम्रो गरिरहेको छ भन्ने कुरा पनि हुन्छ । आफ्नो टिमले हारेर विश्व कपबाट आउट भएपछि चाहिँ हेर्ने मुड नै आउँदैन । तर, आफ्नो टिमले जुन टिमसँग हारेको छ, त्यो टिमले नजितोस् भन्ने चाहनाचाहिँ धेरै हुँदोरहेछ’, बेनिशा हाँस्छिन् । बेनिशाको घरमा आमा अर्जेन्टिना र भाइ जर्मनीका समर्थक रहेछन् ।

रिमाको अनुभवमा आफू युवावस्था हुँदादेखि नै ब्राजिलले जितेको देखेकाले उनी ब्राजिलकी समर्थक हुन् । उनलाई फ्रान्स पनि मनपर्छ । ‘पहिलो पटक विश्व कप फुटबल हेर्दा ब्राजिलले जितेको देखेकाले ब्राजिलप्रति छाप छ । खेल त अरूको पनि राम्रो हुन्छ तर ब्राजिलको चाहिँ विशेष लाग्छ’, रिमा भन्छिन् । रिमा क्वार्टर फाइनलसम्मका खेल घरमै हेर्छिन् । सेमिफाइनल र फाइनलचाहिँ घरबाहिर साथीभाइमाझ बसेर हेर्छिन् । उनको घरमा स्पेन र इटालीका फ्यान पनि छन् ।

प्रतिक्रिया दिनुहोस्