४ महिनामा बजेट खर्च साढे १९ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म ३ खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो ।

यस अवधिमा चालुतर्फ २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख खर्च भएको हो । त्यस्तै, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म छ दशमलव ९१ प्रतिशत अर्थात् २६ अर्ब २९ करोड ६१ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८ दशमलव ८१ प्रतिशत अर्थात् ४३ अर्ब ३० करोड ५१ लाख खर्च भएको छ ।

यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९ दशमलव ११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा २ खर्ब ६८ अर्ब ७ करोड १७ लाख बराबर असूली भएको छ ।

जसमध्ये कर राजस्वतर्फ १८ दशमलव ९७ प्रतिशत अर्थात् २ खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख र गैरकर राजस्वतर्फ २० दशमलव ६८ प्रतिशत अर्थात् २२ अर्ब २८ करोड ४९ लाख उठेको छ ।

पहिलो चार महिनामा सरकारले रु तीन अर्ब ४१ करोड ५९ लाख वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत बराबर हो । चालु आवका लागि सरकारले  ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्