पाँच वर्षे सरकारको मूल्याङ्कन अहिलेनै गर्नु उचित हाेइन: मन्त्री बस्नेत



वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाँच वर्षका लागि गठन भएको सरकारको मूल्याङ्कन अहिलेनै गर्दा हतार हुने बताएका छन्। उनले व्यवस्था परिवर्तनपछिका अल्झन सुल्झाउन समय लाग्ने भन्दै अब सरकारले गति लिने बताए।

 

‘पहिलो कुरा त यो सरकार पाँच वर्षका लागि गठन भएको हो, त्यसैले अहिलेनै सरकारको मूल्याङ्कन गर्नु हुँदैन्’, बिहीबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सरकार गठन भएयता संरचना र केही कानुन निर्माणमा खर्चियौं, अव देखिने गरेर काम हुन्छ।’ उनले कर्मचारी समायोजन र कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले देशको समृद्धिका लागि तीन तहकै सरकारबीच सहकार्य आवश्यक रहेको बताए।

 

‘स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको सहकार्यबाट मात्रै देशको समृद्धि र विकास हुन्छ’, उनले भने, ‘यसका लागि संघीय सरकारले आवश्यक पहलकदमी लिन्छ।’ उनले कर्णाली प्रदेशको विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनासहित अघाडी बढ्नुपर्ने आवश्यकता औल्याए। मन्त्री बस्नेतले कर्णालीको समृद्धि र विकासका लागि जलविद्युत, पर्यटन र पूर्वाधार महत्वपूर्ण आधार रहेको बताए।

 

तत्कालका लागि आन्तरिक स्रोत नभएकाले कर्णालीको समृद्धि र विकासमा संघीय सरकारले सघाउने पनि उनले जानकारी दिए। ‘यहाँका समृद्धिका आधारलाई बाहिर ल्याउनका लागि प्रदेश सरकारलाई योजना बनाउन आग्रह पनि गरे।

 

‘प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले बनाउने अल्पकालित र दीर्घकालिन योजनाहरुलाई सघाउन संघीय सरकार तयार छ’, उनले भने, ‘अब प्रदेशको विकासका लागि सिंहदरवारले होइन्, वीरेन्द्रनगरले योजना बनाउनुपर्छ।’ उनले छरिएर रहेको पूजि संकलन गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता पनि औल्याए।

 

मन्त्री बस्नेतले दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले कर्णाली प्रदेशको समृद्धिका लागि चीनसँगका सीमा नाकाहरु सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिए। ‘यसका लागि उत्तर–दक्षिण जोड्ने जमुनाह–हिल्सा सडक तत्कालै निर्माण गरेर सञ्चालनमा ल्याइनुपर्छ’, उनले भने, ‘सडक निर्माणका लागि आवश्यक बजेटको संघीय सरकारले व्यवस्था गर्छ।’ उनले पाँच नम्बर प्रदेशको लुम्बिनीलाई कर्णाली प्रदेशको रारासँग जोड्ने तयारीमा संघीय सरकार रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्