रौतहटमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु



जनकपुरधाम । रौतहटमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन् । गौर नगरपालिका १ माइस्थानको इस्लाम सिरक डसना पसलमा गएराति आगलागी भएको हो।

आगलागीमा परेर पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् ।

प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो । सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो। कपडा–डसना पसलसँगै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगलागीले क्षति पुगेको छ।

घटनाको छानबिन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। आगलगीको घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्